बालकोटको बार्दलीमा ओलीसँगै उभिए प्रचण्ड !

काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट गरेको वहुचर्चित दृष्यमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि मिसिएका छन् ।

सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे ।

बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए । तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए ।

बालकोट बैठक 

सरकार गठन गर्न २७५ सांसद रहेको प्रतिनिधिसभामा १३८ चाहिन्छ। गठबन्धन टुटेपछि एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुग्छन् । त्यसो हुँदा सहज रुपमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।

तर, प्रचण्डलाई नेतृत्व स्वीकार गर्न राप्रपाले नमान्ने अवस्था छ । ओलीको आग्रहमा राप्रपा अध्यक्ष लिङदेन गठबन्धनमा आउन सक्ने आकलन छ ।

अहिले कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, जसपाले १२, नेकपा एसले १०, जनमत पार्टीले ६ सीट ल्याएको छ ।

लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ सीट जितेका छन् । स्वतन्त्र सांसद ५ जना छन् ।

सत्ता गठबन्धन टुटेर एमाले क्याम्पमा सबै माओवादी, रास्वपा, राप्रपा, जसपासँग लोसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र आएपछि दुईतिहाइ बहुमत नजिक पुग्नसक्ने देखिन्छ ।

प्रचण्डलाई प्रधानमन्त्री नदिने अडान राखेको कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने सम्भावना बढेको छ । माधव नेपाल नेतृत्वको नेकपा एस पनि खाली हात बस्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *