प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, काे काे बन्दैछन् मन्त्री ?

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् ।

प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।

सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

सात दलको बैठक बोलाइयो, मन्त्रीको टुंगो लगाइँदै !

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात राजनीतिक दलका शीर्ष नेताको बैठक बोलाइएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले दिएको जानकारीअनुसार अहिले बिहान ११ बजे बैठक बोलाइएको छ । बैठकमा मन्त्रीको शपथका बारेमा पनि कुराकानी हुने उनले जानकारी दिए ।

उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालयमा रास्वपाको अडान

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ । यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

“हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।”

उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *