प्रचण्डको शपथसँगै यी हुन सक्नेछन् आज मन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ । प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ ।

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ भने एमालेबाट विष्णु पौडेल सरकारमा सहभागी हुने तयारी छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि आजै सरकारमा सहभागी हुने तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।

यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए । “हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,”

उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।” उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो।

एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। यस्तोमा ओलीनिवास बालकोटमा ६ जना मन्त्रीको नामलाई पनि अन्तिम रुप दिँदैछ।

एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनमा विजयी उपाध्यक्षमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने नेपालखबरलाई बताएका छन्।

यस्तोमा उपाध्यक्ष पौडेलले गृह या अर्थमन्त्रालयले लिन सक्नेछन्। उनी दुईमध्ये एक उपप्रधानमन्त्री हुनेछन्। उनले अर्थमन्त्रालयले लिन सम्भावना बलियो छ। गृहमन्त्रालयमा माओावादी उपमहासचिव वर्षमान पुनको सम्भावना बलियो छ।

एमालेबाट मंसिर ४ को निर्वाचनमा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल विजयी भएका थिए। नेम्वाङ इलाम र पौडेल रुपन्देहीबाट विजयी भएका हुन्।

तर नेम्वाङ अहिले सभामुख या राष्ट्रपति पदमध्ये एकका दाबेदार छन्। संविधानसभा अध्यक्ष र एमाले संसदीय दलको नेतासमेत भइसकेका उनी सात दलीय गठबन्धनबाट राष्ट्रपतिका दाबेदार हुन्।

एमाले उपाध्यक्षमध्ये सुरेन्द्र पाण्डे निर्वाचनमा पराजित भएका थिए। त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल चुनावी मैदानमै थिएनन्।

आइतवार बालकोटमा भएको सात दलीय गठबन्धनको बैठकले पनि प्रधानमन्त्री माओवादीले लिँदा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन्। एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा ओलीलाई दिएको छ। ओलीले नै मन्त्रीका अन्य नामहरुको टुंगो लगाउँदैछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *