रवि लामिछानेले मागे ‘देशकाे ताला चाबी’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ। पार्टीको धुम्बाराहीमा बैठकले सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको एक नेताले जानकारी दिए।

रविले सरकारमा जानका लागि उपप्रधानमन्त्री पद पनि मागेका छन्। तर गठबन्धन सरकारले दुईजना मात्रै उपप्रधानमन्त्री राख्ने समझदारी गरेको छ।

रविले लिने मन्त्रालय टुंगो नलागे पनि उनले काम देखाउन पाउने खोजेका छन्। रविले आफ्ना लागि उपप्रधानमन्त्री मागेपछि यसबारे गठबन्धनको बैठकले निर्णय लिने भएको हो।

तर नेकपा एमाले र माओवादी उनलाई उपप्रधानमन्त्री दिने पक्षमा छैनन्। नागरिक विवाद पनि खेपिरहेका रविले आफूलाई शक्तिशाली स्थानमा उभ्याउन खोजेका छन्।

गठबन्धनबाट उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुने निश्चित भएको छ।

राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्रालय नलिने भएको छ। अर्कातिर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कृषि मन्त्रालय लिने तयारी गरेका छन्। भागबण्डाका क्रममा एमालेले राज्यमन्त्रीसहित ८, माओवादीले राज्यमन्त्रीसहित ६ मन्त्रालयले लिने तयारी गरेका छन्।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधान तथा पराराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।

गठबन्धनमा मन्त्रालयकाे भागवण्डा गर्न आज ११ बजे सत्ता गठबन्धनकाे बैठक बस्दैछ । माओवादीले गठबन्धनकाे बैठकमा श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउने प्रस्ताव पेस गर्नेछ ।

‘एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन सकिन्छ’

प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीलाई पनि आफू नेतृत्वको सरकारमा सहभागी गराउन सकिने बताएका छन्।

पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले सरकारमा सहभागी गराउने विषयमा समाजवादीका अध्यक्ष नेपालसँग आफूले संवाद गर्ने बताएका हुन्।

‘माधव नेपालजीको पार्टीलाई पनि सरकारमा सहभागी गराउन सकिन्छ। वर्तमान गठबन्धनबारे उहाँको धारणा बुझ्न नै बाँकी छ। उहाँ सकारात्मक बनेको अवस्थामा सरकारमा ल्याउन कुनै कठिनाइ छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उपमहासचिव गिरिराजमणि पोखरेलले बताए।

प्रचण्डले कांग्रेस नेतृत्वको रवैयाका कारण पाँच दलीय सत्ता गठबन्धन टुटेको बताएका छन्। ‘देउवाजीले झुलाउने काम मात्रै गर्नुभयो। राष्ट्रपतिले दिएको समयसीमा पनि टार्ने वातावरण देखेपछि बालकोट पुगेँ,’ प्रचण्डले बैठकमा भनेका छन्।

बालकोट पुग्ने लाग्दा प्रचण्डलाई देउवाले फोन गरेको उनले पदाधिकारी बैठकमा बताएका छन्। ‘देउवाजीले झुक्याएपछि म बाहिरिएँ। बालकोट पुग्नै लाग्दा उहाँले फोन गर्नुभयो। मैले दायाँ-बायाँ हुँदै कुरा सकियो भनेँ,’ प्रचण्डको भनाइ थियो।

१ सय ६९ सांसदको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज चार बजे शितल निवासस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *