नेकपा माओवादीबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोहको आयोजना हुँदैछ ।

प्रधानमन्त्रीमा प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । पहिलो चरणमा सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले माओवादी केन्द्रको बैठक बस्दैछ ।

स्रोतका अनुसार माओवादीबाट अमनलाल मोदी र सुदन किराँती पहिलो चरणमा मन्त्री बन्ने सम्भावना छ । उनीहरू प्रदेश १ का हुन् । यस्तै बागमतीका हितबहादुर तामाङ र सूर्यमान दोङमध्ये एक जना पनि मन्त्री बन्ने सम्भावना छ ।

दाङबाट एमाले महासचिव शंकर पोखरेललाई हराएर निर्वाचित रेखा शर्माको नाम पनि मन्त्री बन्ने सूचीमा राखिएको माओवादी स्राेतले बताएको छ । गण्डकीबाट हितराज पाण्डे र कर्णालीबाट महेन्द्रबहादुर शाहीको सम्भावना पनि धेरै छ ।

जनार्दन शर्मा र वर्षमान पुन पनि शक्तिशाली मन्त्रालयका दाबेदार छन् । तर उनीहरूमध्ये यसपटक प्रचण्डले एक जनालाई मात्रै मन्त्रिपरिषद्‌मा सहभागी गराउने मनसाय बनाएको र त्यसमा वर्षमानको सम्भावना अधिक रहेको माओवादी स्रोतको भनाइ छ ।

शक्ति बस्नेत पनि मन्त्री बन्न कम्मर कसिरहेका छन् । यसपटक देवेन्द्र पौडेल दोहोरिने सम्भावना भने कम रहेको बताइएको छ । एमालेले उपाध्यक्ष विष्णु पौडेल वा उपमहासचिव पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ ।

केन्द्रमा सरकारमा जान्छौँ, मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी छोड्दैनौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष राउतले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बताएका हुन् ।

उनले भने, ‘हामीले सरकारलाई समर्थन गरिसकेका छौँ । त्यसैले सरकारमा सहभागी हुन्छौँ । को मन्त्री बन्ने र कुन-कुन मन्त्रालय पाउने भन्ने टुंगो छैन ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने बताए । ‘प्रदेशमा हामीले मुख्यमन्त्री दाबी गर्छौं । त्यो दाबीबाट हामी पछि हट्दैनौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *