रवि लामिछानेकाे पार्टीबाट काे काे बन्दैछन् मन्त्री ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । ‘सभापतिकै नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर निर्णय भएको छैन’, प्रवक्ता मुकुल ढकालले भने ।

अघिल्लो साता बसेको रास्वपाको बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको थियो । २० सिट रहेको रास्वपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ । रास्वपाले उपराष्ट्रपति र उपसभामुखको सट्टा मन्त्रालयमै दाबी गर्ने भएको छ । सरकारमा सहभागी हुनेबारे अहिले रास्वपाका नेताहरू आन्तरिक छलफलमा छन् ।

मन्त्रालय भागबन्डा गर्न बानेश्वरमा सत्ता गठबन्धनको बैठक

मन्त्रालय भागबन्डा गर्न नयाँ बानेश्वरमा आज सत्ता गठबन्धनको बैठक बसेको छ। नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतको उपस्थितिमा सत्ता गठबन्धनको बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। आजै सानो आकारमा मन्त्रिमण्डल गठन हुनेछ। सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

सरकारमा कुन दलबाट कति मन्त्री भन्ने टुंगो गर्न सत्ता गठबन्धनको बैठक बसेको हो। बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन्।

यस्तै रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पनि सत्ता गठबन्धनको बैठकमा सहभागी छन्।

अहिले हामी सरकारमा जाँदैनौं, समर्थनमात्र गर्ने हो: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल सरकारमा नजाने भएको छ। सोमबार सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले सरकारमा नजाने बताएका हुन्। ‘अहिले हामी सरकारमा जाँदैनौं’, पत्रकारको प्रश्नमा उनले भने,’समर्थनमात्र गर्ने हो।’

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *