स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतका चार वर्षे बीएड र बीबीएसको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्नाका लागि विज्ञापन गरेको हो ।

त्रिविलेस्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको छ ।

त्रिविले पुस ६ देखि माघ ५ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ । माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्ने त्रिवि शिक्षाध्यक्षको कार्यालयले जानकारी दियो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फका सबै विषय र संकायका नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

चितवनको कालिका नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । नगरपालिकाभित्र देखिएको बेरुजु शून्यमा झार्ने भन्दै नगरपालिकाले १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको हो ।

नगरपालिकाभित्र हालसम्म रु १६ करोडभन्दा बढी बेरुजु देखिएको छ । सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा रहेको गरपालिकाले जानकारी दियो ।

नगर प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ ओटा विद्यालय सञ्चालनमा छन् । ती मध्ये कात्तिक महिनामा १३ विद्यालयमा कार्यरत शिक्षकको मात्र तलब निकासा गरिएको थियो । भने, मङ्सिरमा २५ ओटाको गरेको छ ।

सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको प्रमुख रेग्मीले बताए । विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए ।

नगरपालिकाले विद्यालयमा हरेक महिना तलब निकासा गर्ने गरेको छ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको प्रमुख रेग्मीले बताए । तलब रोकिएपछि शिक्षकका सङ्घ सङ्गठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ ।

‘हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।’ उनले भने, ‘कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *