रवि लामिछानेले थाले एक्सन, कार्यभार सम्हालेको भोलिपल्टै दिए यस्ताे निर्देशन

काठमाडाैं । रवि लामिछानेले कार्यभार सम्हालेको भोलिपल्ट नै गृह मन्त्रालयले भीआईपी र भीभीआईपीका लागि खटाइएको अनधिकृत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ।

नियम विपरीत कति सुरक्षाकर्मी विशिष्ट व्यक्तिहरूको अगुवापछुवा (अङ्गरक्षक)का रूपमा खटिएका छन् भन्ने चाहिं गृहले सार्वजनिक गर्न आनाकानी गरेको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले त्यस्तो संख्या मातहतका निकायबाट माग गरिरहेको बताए। विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सरकारले बहालवाला तथा पूर्व भीआईपी/भीभीआईपीहरूलाई सुरक्षाकर्मी खटाउँदै आएको छ।

प्रहरी र सशस्त्र प्रहरीका उल्लेख्य जनशक्ति विशिष्ट व्यक्तिको सुरक्षा अधिकृत (पीएसओ)का नाममा गैरकानूनी रूपमा खटिएको बताइन्छ। केही समय पीएसओ फिर्ता बोलाउने र समयक्रममा पुनः पुरानै प्रवृत्तिमा फर्काउने गरिंदै आएको छ। २०७७ सालमा नयाँ कार्यविधि जारी भएपछि झण्डै ५०० सुरक्षाकर्मी फिर्ता भएका थिए। तर, पछि गैरकानूनी रूपमा खटाउने क्रम भने रोकिएन।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्ति वर्तमान तथा पूर्व विशिष्ट पदाधिकारीको सुरक्षाका नाममा खटिंदै आएका छन्। सुरक्षा ‘थ्रेट’ मूल्याङ्कनका आधारमा विशिष्ट पदाधिकारीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइँदै आएका छन्।

तर, त्यसरी खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै बारम्बार आलोचना हुने गरेको छ। नयाँ गृहमन्त्री आएपछि यस्ता सुरक्षाकर्मी हटाउने निर्णय भए पनि दिगो कार्यान्वयन भने भएको पाइँदैन।

नयाँ सरकार आयो, शेयर कारोबार उकालो लाग्यो

नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा दुई सय दुई वटा कम्पनीको शेयर मूल्य बढेको छ भने जम्मा आठ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ७२ दशमलव २१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक दुई सय ८३ दशमलव ४२, होटल तथा पर्यटन समूहको उपसूचक एक सय १७ दशमलव ०१, विकास बैंक समूहको उपसूचक सय दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५ दशमलव ३५ अंकले बढेको छ ।

आज बैंकिङ समूहको उपसूचक ३५ दशमलव ०७, वित्त समूहको उपसूचक ६७ दशमलव ७३, लगानी समूहको उपसूचक तीन दशमलव ६८, उत्पादन समूहको उपसूचक ७२ दशमलव ३७, लघुवित्त समूहको उपसूचक ५५ दशमलव ५६ र अन्य समूहको उपसूचक ३७ दशमलव ०२ अंकले बढेको छ ।

आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा लक्ष्मी बैंक लिमिटेडको सबैभन्दा धेरै रु २० करोड ९४ लाख ९० हजार पाँच सय नौ बराबरको १० लाख ७० हजार पाँच सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *