गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार राहधानी विभागको अनुगमन गरेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अनुगमन गरेका हुन् ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।

गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुले भोग्नु परेका समस्याकाबारेमा जानकारी लिँदै सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

प्रदेश भागवण्डाको मोटामोटी सहमति

सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको नेतृत्वका विषयमा मोटामोटी सहमति भएको छ ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्नेबारेमा सहमति भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार एमालेले चारवटा प्रदेश सरकारको नेतृत्व गर्नेछ भने माओवादी केन्द्रले दुई प्रदेशको नेतृत्व गर्नेछ । दुई अध्यक्षबीच भएको आजको भेटघाटमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने र बागमती, गण्डकी, कर्णाली र प्रदेश नं. १ एमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले भने यो विषयमा छलफल भइरहेको बताए । ‘प्रदेश सरकारको मुख्यमन्त्रीको विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ । यसबारेमा टुंगो लागिसकेको छैन । नेताहरू घनीभूत छलफलमा हुनुहुन्छ,’ आचार्यले भने, ‘हामी यो विषयलाई छिट्टै टुंग्याउँछौँ ।’

प्रदेश १ मा माओवादीको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दाबी गर्दै वार्ता समिति नै बनाएको छ । यो प्रदेशमा एमालेले ४० सिट जितेको छ । माओवादीको १३ सिट जितेको छ । जसपाको १, राप्रपा ६ सिट जित्दा कांग्रेसले २९ सिट जितेको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत छ ।

दुई अध्यक्षले जसपा पनि सरकारमा आए मधेस प्रदेशमा जसपा र जनमत पार्टीलाई आधा-आधा कार्यकाल दिने सहमति गरेका छन् । मधेस प्रदेशमा १०७ सदस्यीय प्रदेशसभा छ । जसमा एमालेले २३, जसपा १६, जनमत १३, कांग्रेस २२, लोसपा ९ र माओवादी केन्द्रले ८, राप्रपा १ र नेकपा एसले ७ सिट जितेका छन् । त्यस्तै, नेपाल संघीय समाजवादी १, नागरिक उन्मुक्ति १ र ६ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा एमालेको २७, माओवादी २१ र राप्रपाको १३ सिट छ । कांग्रेसले ३७ सिट जितेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा एमाले र माओवादीको मात्र सरकार बन्ने अवस्था छैन । यसका लागि राप्रपाको समर्थन चाहिन्छ ।

गण्डकी प्रदशेसभामा एमालेको २२ र माओवादी केन्द्रको ८ सिट छ । यहाँ पनि सरकार गठन गर्न राप्रपाको समर्थन चाहिन्छ । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । नेकपा एकीकृत समाजवादी १, कांग्रेस २७ र राप्रपाले २ सिट जितेका छन् । यहाँ पनि सरकार बनाउँदा अन्य दलको सहयोग चाहिन्छ ।

लुम्बिनी प्रदेशसभामा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत ३ र जसपाको ३ सिट छ । यहाँ पनि एमाले माओवादीसहित अन्य दल सरकारमा सामेल हुनुपर्छ । लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभामा छ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रले १३, एमालेले १० सिट जितेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पुग्छ । कांग्रेसले १४, स्वतन्त्र १, राप्रपा १, नेकपा एसले १ सिट जितेको छ ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, कांग्रेस १९, समाजवादी ४, स्वतन्त्र १ र राप्रपाले १ सिट जितेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा २७ सांसदको आवश्यकता पर्छ । त्यसका लागि नागरिक उन्मुक्तिको सहयोग चाहिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *