करेक्सनपछि नेप्से ५७ अंकले बढ्यो, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से परिसूचक बिहीबार ५६.८८ अंकले बढेर बन्द भएको छ । बुधबार १२ अंकको करेक्सन देखिएको थियो । गएको सोमबार र मंगलबार गरी दुई दिनमा ११७ अंकले बढेको थियो ।

नयाँ सरकार बनेसँगै लगातार दुई दिन बढेर बजारमा तेस्रो दिन करेक्सन देखिएको थियो । केही समयअघि लगातार गुमाएका लगानीकर्ताले आफ्नो ‘प्रोफिट बुक’ गर्दा बुधबार नेप्से घटेको थियो ।

तर, बिहीबार एकै दिन परिसूचक २.८८ प्रतिशतले वृद्धि भएर २०२९.०३ विन्दुमा रोकिएको छ । बुधबार परिसूचक १९७२ विन्दुमा बन्द भएको थियो ।

बिहीबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन ८० लाख २४ हजार ५५९ कित्ता सेयर दुई अर्ब ८६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । बुधबार दुई अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

एक दिनमै कारोबार रकम ७० करोड ६७ लाख रुपैयाँले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । मंगलबार करिब चार अर्ब रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

बिहीबार फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहको परिसूचक ५.३८ प्रतिशतले वृद्धि भएको छ । तर, सेयर मूल्य सर्वाधिक वृद्धि भएका १० मध्ये पाँच इन्स्योरेन्स कम्पनी छन् ।

यस दिन सानिमा लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स सर्वाधिक सेयर मूल्य वृद्धि भएका १० कम्पनीमध्ये हुन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको समूहगत परिसूचक बढेको छ । दुई प्रतिशतभन्दा बढीले परिसूचक वृद्धि ११ समूहको भएको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको १२ करोड १४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता चार हजार ६ रुपैयाँ कायम भएको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९१० कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *