महामन्त्रीद्वय भने– कांग्रेसबाट भएको गल्ती ढाकछोप नगरी स्वीकार गरिनुपर्छ (सन्देशसहित)

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था सृजना गर्ने दोषीले आफ्नो गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनीहरूले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्नु पार्टी र नेतृत्वको गम्भीर गल्ती भएको उल्लेख गर्दै भएका गल्ती र कमजोरीको ढाकछोप नगरी समीक्षा हुनुपर्ने बताएका हुन् ।

‘गत मंसिर ४ मा सम्पन्न निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनु पर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासीनता छाउनु अस्वभाविक होइन,’ सन्देशमार्फत उनीहरूले भनेका छन् ।

यस्तै उनीहरूले जे नहुनुपर्थ्यो त्यो भइसकेको अवस्थामा पार्टीभित्र आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । ‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने ।

दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ ।’

यस्तो छ महामन्त्रीद्व थापा र शर्माले जारी गरेको सन्देश–

१) गत मंसिर ४ मा सम्पन्न निर्वाचन पश्चात् मुलुकमा भिन्न राजनैतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ । यस्तो नहुनु पथ्र्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक होइन ।

यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने । दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ ।

२) नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौं । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने,

तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन । नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भुमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।

३) नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौं चुनौती र अफ्ठ्यारा मोडहरू सामना गरेको छ, तर हर चुनौतीलाई चिरेर दृढतापुर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ । त्यसैले अहिलेको परिस्थितिलाई पनि संकटका रूपमा लिएर हताश हुने छुट हामीलाई छैन, बरु यसलाई पार्टीको शुद्धिकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ ।

४) कांग्रेसमा आज जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न । पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ, अहिलेको परिस्थितिलाई शक्तिमा वदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ । त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्नेछ ।

विधानत, पार्टीमा वनाउनुपर्ने सवै संरचनाहरू र भातृ तथा सुभेच्छुक संस्थाहरूको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, विधान बमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अबिलम्ब गर्नुपर्नेछ । यसलाई तदारुकताका साथ अगाडि वढाउने छौं ।

५) कार्यकर्ता पंतिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनस्र्थापित गर्नेगरी पार्टीलाई दिशा निर्देश गर्न पार्टीमा आत्मसमीक्षा गरेरमात्रै पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । “बदलिएको कांग्रेस र बलियो कांग्रेस” को सुस्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हामी हरेकले फेरि एकचोटी जुर्मुराउनु पर्नेछ ।

यस अवस्थामा पार्टीको केन्द्र देखि टोलसम्म, भातृसंस्थाहरू देखि शुभेच्छुक संस्थाहरूसम्म, पेशागत बुद्धिजीवीहरूदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म हामी जो जहाँ छौं, त्यहीँबाट संस्थागत या व्यक्तिगत रूपमा गर्न सक्ने योगदानका लागि थप उत्साह, एकता र रूपान्तरणको भावनासाथ अघि बढ्न हामी अपील गर्दछौं ।

६) आजको समयसम्म आइपुग्दा वैचारिक रूपान्तरणले होस् या बाध्यताले नेपालका प्राय सबै राजनैतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन् । लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ । यसमा हामीले सन्तोष मान्नुपर्छ किनकि मुलत: यो वीपी कोइरालाको राजनैतिक विचार र प्रभावको विजय हो । तर यसै व्यवस्था भित्र जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न नेपाली कांग्रेस सदैब सजग रहनुपर्छ, रहनेछ ।

७) “राष्ट्रिय एकता र मेलमिलाप” को आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली थियो । सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति संभव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा हामी प्रष्ट र दृढ छौं । त्यो यात्रामा हामी अविचलित ढंगले समर्पित रहनेछौं ।

जय नेपाल !

विश्वप्रकाश शर्मा गगनकुमार थापा
महामन्त्री महामन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *