यस वर्ष बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिक !

काठमाडाैं । शिक्षा तथा मानव विकास केन्द्रले यस वर्ष बढुवा गर्नुपर्ने शिक्षकको सङ्ख्या शिक्षक सेवा आयोगलाई पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह प्रथम श्रेणीमा १३८ जना र द्वितीय श्रेणीमा ७५९ जनाको बढुवा गरिनेछ ।

त्यस्तै निम्न माध्यमिक तह प्रथम श्रेणीमा २१ जना र द्वितीय श्रेणीमा १६७ जनाको बढुवा गर्न आयोगसमक्ष तथ्याङ्क पठाइएको छ ।

केन्द्रका एक सहसचिवले दिएको जानकारीअनुसार माध्यमिक तह प्रथम श्रेणीमा ३७ जना र द्वितीय श्रेणीमा १६६ जनाको बढुवा गरिनेछ ।

यसैबीच आयोगले कार्यतालिकाअनुसार माध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । कार्यतालिकाअनुसार पुस मसान्तसम्ममा विज्ञापन आह्वान गरिसक्नुपर्ने छ ।

आयोगका एक पदाधिकारीले गत वर्ष माग गरिएको अन्य तहको नतिजा सार्वजनिक हुने क्रम जारी रहे पनि माध्यमिक तहको विज्ञापनलाई त्यसले कुनै असर नपर्ने बताए ।

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन आह्वान गरेको हो ।

यही पुस २४ देखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षा भने फागुन २४ गतेदेखि सञ्चालन हुनेछ । फागुन २४ गते एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।

फागुन २५ गते बीडीएस, फागुन २६ गते बिएस्सी नर्सिङ, फागुन २७ गते बीएएमएस, बिएन, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बि फार्म लगायतका परीक्षा हुनेछन् भने फागुन २८ गते बिचिएचको परीक्षा हुनेछ ।

प्रवेश परीक्षा सबै विषयको २०० पुर्णाङ्कको हुने र परीक्षा समायवधी ३ घण्टाको हुनेछ । एकभन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारहरूले परीक्षा तालिका बमोजिम एकै समयमा परीक्षा नजुध्ने गरी आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षाका लागि आवेदन शुल्क नेपालीका लागि ४ हजार र विदेशीका लागि ८ हजार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *