एजेन्सी । युरोकपमा शुक्रबार रातिका दुवै खेलमा हार–जित भएन । अर्थात्, दुबै खेल बराबरीमा सकिए । समूह डी अन्तर्गत क्रोएसियाले र चेक गणतन्त्रले १–१ को बराबरी खेल्दा इंग्ल्याण्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेले ।
यो बराबरीले राउन्ड अफ सिक्सटिनमा पुग्ने टोलीको टुंगो तत्काल लागेन । त्यो नजिता तेस्रो चरणको खेलसम्म धकेलिएको छ । अब तेस्रो चरणको खेलबाट शीर्ष दुईमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो लाग्नेछ ।
६ समूहबाट तेस्रो स्थानका उत्कृष्ट चार टोली समेत राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले त्यसको टुंगो समूह चरणका सबै खेल सकिएपछि मात्र लाग्नेछ ।
शुक्रबार राति क्रोएसिया र चेक गणतन्त्रले हाम्पडेन पार्कमा १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूवाती अग्रता भने चेक गणतन्त्रले लियो ।
खेलको ३७ औँ मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गरे । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फाउल गरेपछि भीएआरको सहायताबाट चेकले पेनाल्टी पाएको थियो ।
४७ औँ मिनेटमा इभाँ पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । यसअघि क्रोएसिया इङ्गल्याण्डसँग १–० गोलले हारेको थियो ।
उता, वेम्बली स्टेडियममा भएको खेल भने गोलविहिन बन्यो । खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यो खेलमा इंग्ल्याण्ड अभागी सावित भयो, हेड गरेर पनि गोल हात लागेन ।
१२ औँ मिनेटमा जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएपछि गोलरहित बराबरीमा चित्त बुझाउनु पर्ने अवस्था आयो ।