झन्डै २३ सय जनामा कोरोना भाइरस, ४६ सङ्क्रमितको मृत्यु

काठमाडाैं । नेपालमा झन्डै २,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण र ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १०,९०४ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा २,२९७ जनमा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा ३,१३० जना सङ्क्रमणमुक्त भएको मन्त्रालय सोमवार अपराह्ण जनाएको छ।

अहिलेको वृद्धिसँगै नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा ६,२२,६४० जनामा र एन्टिजन विधिबाट २७,३०८ जनामा कोभिड पुष्टि भएको छ।

कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८,७७२ पुगेको सरकारी तथ्याङ्क छ।

पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म ८९.९ % अर्थात् झन्डै पाँच लाख ६०,००० जना निको भइसकेका छन्।

मन्त्रालयका अनुसार अहिले सार्वजनिक गरिएको मृतकको तथ्याङ्कमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

सङ्क्रमितमध्ये अधिकांश २१ वर्षदेखि ५० वर्षका व्यक्तिहरू छन्।

सक्रिय सङ्क्रमित कहाँ छन्?

सोमवार बागलुङमा सर्वाधिक ३०५ जनामा कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको भए पनि तीमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

अहिले काठमाण्डूमा २८५ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ६१ जनामा कोभिड पुष्टि भयो। मन्त्रालयका अनुसार अहिले भक्तपुरमा २,०२२ जना, ललितपुरमा २,६७९ जना काठमाण्डूमा ५,५११ जना सक्रिय सङ्क्रमित छन्।

 अस्पतालमा हुने सङ्क्रमितको सङ्ख्या पनि घटेको देखिएको छ।

सङ्क्रमितमध्ये अहिले ८११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २३७ जना भेन्टिलेटरमा छन्।

सरकारी तथ्याङ्कअनुसार नेपालमा सोमवार अपराह्णसम्म २५ लाख जनाभन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने सात लाख ३१,६५३ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१८ प्रतिशत महिला छन् भने ६०.८२ प्रतिशत पुरुष छन्।

Leave a Reply

Your email address will not be published.