काठमाडाैंमा स्मार्ट लकडाउन : निजी सवारीसाधनमा जाेरबिजाेर, आज कुन-कुन पसल खुल्छन् ?

काठमाडाैं । काठमाडाैं उपत्यकामा आज मंगलबारबाट निषेधाज्ञा खुकुलाे बनाइएकाे छ। असार १४ सम्म लम्ब्याइएकाे निषेधाज्ञाई स्थानीय प्रशासनले स्मार्ट लकडाउन पनि भनेकाे छ।

आजबाट स्मार्ट लकडाउन लागू भएसँगै उपत्यकामा निजी सवारीसाधन जाेरबिजाेरमा गुड्न थालेका छन्। पसल पनि बार अनुसार खुल्न थालेका छन्।

मंगलबार सुनचँँदी पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) खुलेका छन्। यी पसल आइतबार र बिहीबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन गर्न पाइने छ।

निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, काटिङ्ग) दैनिक बिहान ११ बजे देखि अपरान्ह ६ बजेसम्म संचालन गर्न पाउने ।ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ।

तर पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्न भनिएकाे छ।

अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र मात्र साँझ ७:०० बजेसम्म संचालन भएका छन्।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय छ। खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ । कोरोनाको जोखिम पूर्ण रुपमा निमिट्यान्ह नभएको भन्दै प्रशासनले सार्वजनिक सवारी भने अहिले तत्काल नखुलाउने बताएको छ ।

यसैगरी मंगलबारबाट विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालय पनि खुल्दैछन्। स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्न भनिएकाे छ।

बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी संचालन गर्न भनिएकाे छ। यसअघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गरिएको छ।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क/साबुन/स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ८ बजेदेखि बिहान ११ बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाइनेछ।

Leave a Reply

Your email address will not be published.