ताराखाेलाकाे बजेट : पर्यटन प्रवर्द्धनका लागि ‘स्टोन भिलेज’

बागलुङ । ताराखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि स्टोन भिलेज कार्यक्रमसहितको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षकालागि ल्याएको बजेटमा पर्यटन गुरुयोजना र डिपिआर बनाउने लक्ष्य छ ।

डिपिआर अनुसार गाउँपालिकामा बजेट परिचालन गरेर आर्थिक समृद्धि ल्याउने उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । यसअघि पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुर्काेट गाउँपालिकासँग मितेरी साइनो जोडेको छ ।

गाउँपालिकाले ३५ करोड ५१ लाख ८६ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको हो । जसमा पूँजिगततर्फ १० करोड ९१ लाख ४५ हजार ९ सय ९८ रुपैयाँ र चालुतर्फ ससर्त अनुदानसहित १८ करोड ८० लाख ४१ हजार बिनियोजन गरिएको हो । पर्यटन प्रवद्र्धनकै लागि गाइघाट झरना पुननिर्माण र व्यवस्थापन गरेर आर्कषण बढाउन १५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ कृषिलाई जोड दिएको छ । जसमा कृषि विकास कार्यक्रमका लागि ४८ लाख ५० हजार रकम बिनियोजन छ । करिमेला गाउँलाई स्टोन भिलेज बनाउन यो बजेटमा १५ लाख बिनियोजन छ । सामाजिक बिकासतर्फ बालबिकास सहजकर्ताको तलब बढाउन ४२ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाका लागि मोबाइल रिचार्ज र १० बर्षे जीवन बीमा कार्यक्रमका लागि बजेट विनियोजन भएको छ । पुर्वाधार विकासतर्फ वडा नं. १ देखी गाउँपालिका जोड्ने सडकका लागि १ करोड ४१ लाख ६६ हजार रकम, घुस्मेली गाउँपालिका जोड्न १ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी वर्षका लागि पशु विकासतर्फ बाख्रा पकेट कार्यक्रम पाडापाडी प्रर्वद्धन कार्यक्रमका लागि ४२ लाख रुपैयाँ र पशु विकास तर्फ १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *