काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमहासचिव माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको बताएका छन्।
मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पूर्वमहासचिव नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउन प्रस्ताव नगरेको बताएका हुन्। गत शनिबार सञ्चारकर्मीसँग अन्तरक्रियामा नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आइसकेको बताएका थिए।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको भनाइको खण्डन गर्दै ओलीले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?
उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’
ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणीसमेत गरेका छन् । उनले भनेका छन्, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’
आफ्नो महत्त्व आफैं बढाउन मात्रै नेपालले यस्तो धारणा राखेको ओलीको आरोप छ।