आज असार १५ राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन

काठमाडौँ । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । यसै सन्दर्भमा हामीले नेपालको धानको उत्पादन, माग र आत्मनिर्भरताको स्थितिबारे प्रदेशगत खोज गरेका छौँ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार छ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६/७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ ।

नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकेको हो । आत्मनिर्भर हुन सक्नुमा मुख्य कारण ऐन कानुन नै रहेको प्रवक्ता घिमिरेले बताउनुभयो । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।

असार १५ मा किन खाइन्छ दही चिउरा ?

काठमाडौं । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन हो असार १५। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ।

नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो। तर असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले।

आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ। परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो ।

तर समयक्रमले यसलाई असार १५ मा पु¥याएको संस्कृतिकर्मीको तर्क छ। उनीहरुका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ।

हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन। अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन्। उसबेला सबैसँग आजजस्तो माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन।

रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन। सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो। गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन।

त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो। त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *