एमाले जाेगाउन ओलीले भंग गरे आफैले बनाएको आयोजक कमिटी

काठमाडाैं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

२०७७ चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशन आयोजना गर्न केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा पुन: रुपान्तरण गरिएको थियो । ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय तथा पार्टीको आन्तरिक कारण र एकताको प्रयासका लागि अब महाधिवेशन आयोजक कमिटीले केन्द्रीय कमिटीका रुपमा काम गर्ने बताए ।

अदालतले महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकार बारे प्रश्न उठाएको थियो । ज्ञवालीले अदालतको आदेश त्रुटिपूर्ण भएको र राजनीतिक दल सम्बन्धी ऐनसँग बाझिएको पार्टीको ठहर रहेको बताउँदै त्यसबारे कानुनी उपचारकाे प्रक्रियामा गइसकेको जानकारी दिए । यद्यपि अदालतको आदेशलाई पार्टीले मान्ने पनि उनले जिकिर गरे ।

त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निष्क्रिय भएको ज्ञवालीको भनाइ छ । यसले पार्टीलाई थप एकताबद्ध गर्ने आधार पनि सिर्जना भएको उनले विश्वास व्यक्त गरे । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापासहितका नेतालाई स्थायी कमिटीका अटाउने निर्णय गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.