काठमाडाैं । नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।
बिहीवार भने बुधवारको दाँजोमा यी प्रदेशका अलि बढी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागकी मौसमविद् सजिना शाक्यले बीबीसीलाई बताइन्।
“केही स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रमा पानी पर्छ,” मौसमविद् शाक्यले भनिन्।
शुक्रवार दिउँसोदेखि कर्णाली प्रदेशमा अत्यधिक वर्षा कम हुने र रातिदेखि प्रदेश नम्बर २ मा पनि अत्यधिक वर्षाको सम्भावा टर्दै जाने विभागले जनाएको छ।
विभागले बुधवार बिहान ६ बजे बुलेटिन जारी गर्दै यी पाँच प्रदेशका थोरै स्थानहरूमा अत्यधिक वर्षा तथा एक वा दुई स्थानहरूमा त्योभन्दा अझ धेरै वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा सचेत रहनुपर्ने जनाएको छ।
“उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ।दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,” मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ।
कुन-कुन क्षेत्र जोखिममा
यो वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै पानी पर्ने अनुमान गरिएका कारण जोखिम पनि धेरै रहेको बताइन्छ।
मनसुन सुरु भएको पहिलो सातामै विभिन्न भागमा पहिरो र बाढीका कारण जनधनको क्षति भएका खबरहरू आए।
सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण थुप्रै परिवार अन्यत्र सर्न बाध्य भए भने कतिपय परिवार घरबारविहीन भएको बताइन्छ।
अब हुने अत्यधिक वर्षाका कारण थुप्रै क्षेत्रहरू जोखिममा रहेको मौसमविद् शाक्यले बताइन्।
“यसअघि परेको पानीले नै माटो गलाइसकेको छ र त्यसमाथि भारी वर्षा हुँदा जोखिम धेरै छ,” शाक्यले भनिन्।
२०७२ सालमा भूकम्प गएपछि सरकारले विभिन्न क्षेत्रको सहायतामा पहिरो जोखिमको अध्ययन थालेको थियो।
उक्त अध्ययनका आधारमा पहिरोको उच्च, मध्यम र सामान्य जोखिम निर्धारण गरिएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार वाग्मती प्रदेशका सात वटै जिल्ला र कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लाहरू बढी जोखिममा छन्।
जोखिममा रहेका जिल्लामा खास गरी गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट रुकुमलगायत छन्।
पूर्वसूचना प्रणाली
प्राधिकरणका प्रमुख अनिल पोखरेलले उच्च जोखिम रहेका जिल्लामा सावधानी अपनाउन भनिसकिएको र स्थानीय तहमार्फत वर्षा र जोखिमको जानकारी दिने व्यवस्था मिलाइएको बताएका छन्।
उनले भने, “बाढी आउँदा पूर्वसूचना दिने प्रणाली आठ वर्षअघि नै थियो। यो वर्षदेखि पहिरोका लागि पनि जोखिम रहेका नौ वटा जिल्लामा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पूर्वसूचना दिने अभ्यास हामीले थालेका छौँ।”
बेलायत सरकारको प्राविधिक सहयोगमा मौसम पूर्वानुमान महाशाखा र प्राधिकरणका कर्मचारीहरूले करिब एक वर्षको गृहकार्यपछि पूर्वसूचना प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर यो वर्ष अभ्यास थालिएको उनले बताए।
विपद्का क्षेत्रमा काम गर्न विभिन्न निकायको सहायतामा स्थानीय तहले प्रभावित क्षेत्रका मानिसहरूलाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत पनि सम्भावित जोखिमको जानकारी दिने उनले बताए।
जोखिम रहेका यी क्षेत्रमा पूर्व सूचना दिनेबारे प्रदेश स्तर र स्थानीय तहसम्म छलफल भइसकेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्राविधिक उपसचिव राजेन्द्र शर्माले भने, “जोखिमयुक्त पालिकाहरूमा उहाँहरूलाई तपाईँको यी क्षेत्र जोखिममा छ है पहिरोको हिसाबले सचेत रहनुहोला भन्ने खालको र प्रत्येक दिन पालिकाहरूलाई प्रत्येक दिन सूचना सम्प्रेषण गर्ने काम सुरु गरेका छौँ।”
यस्तो अध्ययनले विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न र पूर्व तयारी गर्न केही सहज भए पनि अझै विस्तृत अध्ययन गर्न आवश्यक रहेको स्थानीय तहका पदाधिकारीहरूले जनाएका छन्।
गाउँपालिका महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, “अध्ययनलाई अझै भूगोल केन्द्रित बनाउन सकियो भने स्थानीय तहहरूलाई आफ्नो खाद्य केन्द्रमा काम गर्नलाई र जनतालाई वरपर सार्नूस् भन्न सजिलो हुन्थ्यो।”
प्राधिकरणका प्रमुख पोखरेलले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने दिशामा आफूहरू रहे पनि त्यो निकै चुनौतीपूर्ण रहेको बताए।
उनीले भने, “मौसम पूर्वानुमान प्रणालीलाई थप चुस्त बनाउनुपर्नेछ। जोखिमको जानकारी त्यसैमा भर पर्छ।”
“रडारलगायत प्रणाली जडान गर्नु पर्नेछ र त्यसका लागि आवश्यक जनशक्तिको पनि खाँचो छ।”