पहिरोका कारण कुन-कुन राजमार्ग प्रभावित, नदीहरूको अवस्था के छ ?

काठमाडाैं । निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा मुलुकका विभिन्न राजमार्गहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।

पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

“पहिरो त्यति ठूला छैनन् तर कहीँ पानीका कारण, कहीँ लेदोका कारण र कहीँ पहिरोकै कारण समस्या भएको छ। तर सडक खुलाउन धेरै समय भने लाग्दैन,” प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले भने।

कोरोनाभाइरस महामारीका कारण निषेधाज्ञा लागु भएका कारण राजमार्गहरूमा विगतमा जस्तो सवारीको चाप भने नरहेको अर्यालले जानकारी दिए।

काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा बिहीवार बिहानैदेखि पानी परेको भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने बिहान ६ बजे नै खुलेको सूचना अधिकारी तेजबहादुर पौड्यालले जानकारी दिए।

उनले पोखरा विमानसस्थलमा उडान हुन नसके पनि अन्य विमानस्थलको अवस्था समान्य रहेको बताए।

असार १ गतेदेखि बिहिवार बिहानसम्म नेपालमा वर्षाका कारण भएका विपद्‌मा २८ जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। घाइते हुनेको सङ्ख्या २२ छ।

कहाँ-कहाँ समस्या?

पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भएको छ।

त्यस्तै मुग्लिङ-नारायणगढ खण्ड, काभ्रे जिल्लामा बीपी राजमार्ग र ललितपुर हुँदै हेटौँडा जाने सडक अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड पनि अवरुद्ध भएको विवरण प्राप्त भएको छ।

यसअघि नै गएका पहिरोका कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बाजुराको मार्तडी-कोल्टी र बेँसीसहर-मनाङ सडक खण्ड अवरुद्ध रहेको बताइएको छ।

नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

सरकारले नदी तटीय क्षेत्र र भिरालो वस्तिहरूमा सतर्कता अपनाउन सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

नदीहरूको अवस्था कस्तो छ?

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाले बिहीवार बिहान ७ बजे जारी गरेको पूर्वानुमान अनुसार हाल नारायणीको सहायक नदी मर्स्याङ्दीले बिमलनगर जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ।

भोटेकोसी, सुनकोसी लगायतका कोशीका सहायक नदीहरू र त्रिशूली, बुढी गण्डकी, काली गण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ।

पूर्वी राप्ती र कन्काई जलाधारका केही सहायक नदीहरूमा मध्यमदेखि अत्यधिक वर्षा भई बहाव उल्लेख्य बढ्ने र सतर्कता तहमा पुग्न सक्ने बताइएको छ।

त्यस्तै कमला र बाग्मती लगायतमा बहाव सतर्कता पार गरी खतराको तहसम्म पुग्ने सक्ने बताइएको छ।

बाग्मती प्रदेशको काठमाण्डू, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेपलान्चोक जिल्लाका स-साना नदीहरूमा बहाव केही बढ्ने र आकस्मिक बहाव हुन सक्ने बताइएको छ।

“आज कमला र बागमती लगायतमा बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ,” बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ।

जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ र कास्की छन् भने प्रदेश २ मा बारा, पर्सा र रौतहट सहित ८ जिल्ला छन्।

प्रदेश १ मा पनि इलाम, झापा र मोरङ सहित १२ जिल्लामा प्रभाव रहने बताइएको छ।

मेलम्चीको अवस्था के छ?

निरन्तर वर्षाका कारण मेलम्ची र आसपासका नदीहरूमा फेरि बहाव बढेको अधिकारीहरूले बताएका छन्।

उक्त क्षेत्रमा बहाव सुधार गर्ने कार्य भइरहेको भए पनि पानी बढेको अर्याल बताउँछन्।

“हामीले सतर्कता अपनाएको अवस्थामा थप मानवीय क्षति हुँदैन भन्ने हो तर बहावले अलिअलि कटान चाहिँ अहिले पनि भइरहेको छ,” उनले भने।

केही दिनअघि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित भएका थिए भने केही व्यक्तिको मृत्यु भएको थियो।

बाढी पूर्वानुमान शाखाले आफ्नो ह्यान्डलबाट ट्विट गर्दै सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधवार बेलुकादेखि लगातार मध्यमदेखि अन्यधिक वर्षा मापन भएको र त्यहाँ थप वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ।

सूचनामा मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published.