भेरोसेल खोप खरीदको लागि चिनियाँ कम्पनीसँग सम्झौता, २४ असारबाट आपूर्ति

काठमाडाैं । सरकारले भेरोसेल खोप खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४ असारबाट खोपको आपूर्ति शुरु हुनेछ। खोप साप्ताहिकरुपमा विभिन्न चरणमा आउने मन्त्रालयले जनाएको छ।

सरकारले हालसम्म कूल ४२ लाख ४८ हजार डोज खोप छिमेकी राष्ट्र र कोभ्याक्समार्फत् प्राप्त गरेको जनाएको छ।

हालसम्म २५ लाख ७४ हजार जनाले पहिलो र ७ लाख ५७ हजारले दुवै डोज खोप लगाएका छन्।

मन्त्रालयका अनुसार २२ असारबाट भेरोसेल खोपको दोस्रो डोज प्रदान गरिंदै छ।

याे पनि समाचार

लगातार तीन दिनदेखि सङ्क्रमण दर २१ प्रतिशतभन्दा माथि

नेपालमा गत २४ घण्टामा २,२९९ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। उक्त अवधिमा कोभिडका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टिजन गरी कुल १०,५९६ जनाको परीक्षण गरिँदा २,२९९ जनामा सङ्क्रमण भेटिएको छ, अर्थात् सङ्क्रमण दर करिब २१.७% पुष्टि भएको छ।

सङ्क्रमित हुने वा मृतकको सङ्ख्याभन्दा पनि तीनदिन यता सङ्क्रमण दर २२ प्रतिशत हाराहारी वा त्यसभन्दा माथि रहनुले थप सजग हुनुपर्ने अवस्था आएको जनस्वास्थ्यविदहरूले बताएका छन्।

मङ्गलवार सङ्क्रमण दर २२% थियो भने बुधवार त्यो सङ्ख्या २५% र बिहिवार त्यो सङ्ख्या २५.१२% पुगेको थियो। शुक्रवार फेरि त्यो सङ्ख्या करिब २२% रहेको छ।

कुल सङ्क्रमितको सङ्ख्या मङ्गलवार २,६३६ थियो, बुधवार २,८९२ थियो भने बिहीवार २,७६० थियो।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले भने, “सङ्ख्या बढ्ने र सङ्क्रमण दर बढ्ने भएपछि न्यूमोनिया लगायतका कोभिडका गम्भीर समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या पनि अब फेरि उकालो लाग्ने अनुमान गर्न सकिन्छ।”

शुरूमा एक हप्ता सामान्य लक्षण हुने र त्यसपछि निश्चित प्रतिशतलाई गम्भीर लक्षण देखा पर्ने हुनाले अहिले बढेको सङ्क्रमण दरको प्रभाव अबको एकहप्ताभित्र देखिन थाल्ने उनले बताए।

अहिले पनि शुक्रराज अस्पताल टेकुमा आइसीयू खचाखच रहेको र जनरल वार्डमा भने करिब एक तिहाइ शय्या खाली रहेको उनले बताए।

नेपालमा हाल कुल सङ्क्रमितको सङ्ख्या ७ लाख नजिक पुगेको छ। त्यसैगरी कुल मृत्यु हुने सङ्ख्या ९,१७९ पुगिसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९४% पुगेको छ। मृत्युदर १.५% रहेको छ।

त्यसैगरी सङ्क्रमितमध्ये करिब ४०% महिला छन् भने करिब ६०% पुरुष रहेका छन्।

र पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।

गत मङ्गलवारदेखि निषेध आदेश थप खुकुलो बनाएर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरिएको थियो।

तर सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड पालना नगरिएको, मानिसहरू घर बाहिर निस्कँदा पनि सुरक्षा मापदण्डको बेवास्ता गरेको लगायतका कारणले निषेधाज्ञा खुकुलो पारिएसँगै बिरामीको सङ्ख्या बढ्न पुगेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *