क–कसलाई दिइँदैछ चीनबाट खरिद गरिएको भेरोसेल खोप ?

काठमाडौं । पौने आठ लाख नेपालीले पहिलो मात्रा र झन्डै तीन लाख नेपालीले दुवै मात्रा लगाएको चिनियाँ भेरोसेल खोप थप आपूर्ति भएपछि उमेर समूह र विपद्‌बाट प्रभावित क्षेत्रहरूलाई प्राथमिकता दिएर वितरण गरिने अधिकारीहरूले बताएका छन् ।

हालसम्म नेपालले चीनबाट अनुदानमा पाएको १८ लाख भेरोसेल खोपमध्ये १३ लाख ७३ हजार मात्रा खोप वितरण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरूलाई मङ्गलबारदेखि दोस्रो मात्रा खोप वितरण गरिँदैछ ।

त्यसका लागि देशैभर खोप पुर्‍याइएको र जिल्लास्थित निकायहरूले खोप केन्द्रहरू तोक्ने भनिएको छ । दोस्रो मात्रा चिनियाँ खोप यसरी वितरण गरिँदै छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जिल्ला समन्वय समितिमार्फत निर्णय गरेर दोस्रो मात्रा खोप वितरण गर्ने केन्द्रहरू तोक्ने र खोप अभियान सञ्चालन हुने बताए ।

उनले भने, ‘हामीले प्रदेशहरूमा खोपहरू पठाइसकेका छौँ र उनीहरूले प्रत्येक जिल्लाहरूलाई खोप उपलब्ध गराउँछन् । खोप लगाउन कति दिन लाग्छ त्यो जिल्लाले निर्धारण गर्छन् । सकेसम्म चाँडो सक्ने भन्ने हाम्रो कुरा छ ।’

अहिले उपलब्ध भण्डारणबाटै दोस्रो मात्रा दिन सकिने जनाएका अधिकारीहरू चीनबाट यसै साता भेरोसेल खोपको थप परिमाण प्राप्त हुने र त्यसपछि निरन्तर खोप अभियान सञ्चालित हुने बताउँछन् ।

सरकारले चीनसँग ४० लाख खोप किन्ने सम्झौता गरेको भए पनि त्यसबारे विस्तृत विवरणहरू प्रकाशमा ल्याएको छैन । अघिल्लो साताको अन्त्यमा विज्ञप्ति निकाल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सिनोफार्म कम्पनीसँग भएको सम्झौता अनुसार बिहीवारबाट खोप आपूर्ति शुरू भई त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा खोप आउने बताएका थिए ।

गएको चैतमा भेरोसेल खोपको पहिलो मात्रा वितरण गर्दा सरकारले प्राध्यापक, शिक्षक, चीनमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यवसायी, सार्वजनिक यातायातका सवारी चालक र सहचालक सहितलाई उपलब्ध गराएको थियो ।

त्यस बेला ४० देखि ५९ वर्षको उमेर समूहका व्यक्तिलाई पनि दिइएको उक्त खोप वितरणमा चीनसँग सीमा जोडिएका जिल्लाका नागरिकलाई प्राथमिकतामा राखिएको थियो ।

अब प्राप्त हुने चिनियाँ खोप कसरी वितरण हुन्छ ?

खोप शाखाका प्रमुख डाक्टर गौतमले पहिला नै निर्धारण गरिएको प्राथमिकता क्रममा आधारित रहेर अव प्राप्त हुने भेरोसेल खोप वितरण गर्ने योजना बनाइने बताए ।

उनले भने, ‘६० वर्षभन्दा माथि हामी लगभग गइसकेका छौँ । अब ५५ वर्ष भन्दा माथि जसको प्राथमिकता छ हामी त्यसैलाई मूल आधार मान्छौँ ।’

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर तारानाथ पोखरेलले चीनबाट भेरोसेल प्राप्त भएपछि खोप अभियान निरन्तर चल्ने बताए । उनले भने, ‘अब हामी उमेर समूहमा पहिला भन्दा अलिकति तल जान्छौँ । अनि अहिले बाढीको समय भएकाले यसलाई ध्यान दिएर नयाँ निर्णय गर्ने भन्ने कुरा पनि छ । बाढी प्रभावित जिल्लाहरूमा जहाँ जहाँ बाढीको बढी प्रभाव परेको छ त्यो विस्थापित जनसङ्ख्यामध्ये सकेसम्म सबैलाई खोप लगाइदिने कि भन्ने हुनसक्छ ।’

उनले थपे, ‘बाढी पहिरोको अवस्थामा सार्वजनिक भवनमा धेरै जना बस्नुपर्छ । बस्ने ठाउँ एउटै हुँदा दुरी कायम गर्न सम्भव नै भएन । मास्क पनि पुग्ला नपुग्ला त्यही भएर १८ वर्षमाथिका सबैलाई खोप दिँदा सुरक्षित राख्न सकिन्छ भन्ने छलफल भएको छ ।’

यसअघि जिम्मेवारी सम्हाले लगत्तै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले हालैको बाढीबाट बढी प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लाका विस्थापितहरूलाई तत्कालै खोप लगाइदिन निर्देशन दिएका थिए ।

त्यसअन्तर्गत सिन्धुपाल्चोकबाट तथ्याङ्क सङ्कलन गरी केन्द्रमा प्राप्त भएको र मनाङमा प्रभावित गाविसहरूमा लगभग ८० प्रतिशतले खोप लगाइसकेको भनिएको छ ।

खोप शाखाका प्रमुख डाक्टर पोखरेलले खोप र खोप अभियान चलाउन आवश्यक सामग्री आफूहरूले दिने र जिल्लाको अवस्था हेरेर स्थानीय संयन्त्रहरूले नै त्यसबारे निर्णय लिने बताए ।

यस्तो थियो प्राथमिकताक्रमको निर्धारण

पोहोर साल स्वास्थ्य मन्त्रालयले जोखिम र उमेर समूहका आधारमा खोप वितरणको प्राथमिकताक्रम निर्धारण गरेको थियो । त्यसमा पहिलो प्राथमिकता स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी, अग्रपङ्क्तिमा खटिने अन्य पेसाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र ६५ वर्षदेखि माथिको उमेर समूहलाई पहिलो प्राथमिकतामा राखिएको थियो ।

दोस्रो प्राथमिकतामा ५५ देखि ६४ वर्षको उमेर समूहका व्यक्ति, विभिन्न गम्भीर किसिमका अन्य रोग भएका व्यक्ति र आप्रवासी कामदार, शरणार्थी र बन्दी लगायतलाई खोप दिइने भनिएको थियो ।

तेस्रो प्राथमिकतामा चाहिँ ४० देखि ५४ वर्ष र त्यसपछि १८ देखि ३९ वर्षका व्यक्तिहरूलाई खोप दिने भनिएको थियो । उक्त प्राथमिकता क्रम पटक पटक मिचेको र पहुँचका भरमा हजारौँलाई खोप बाँडेको आरोप सरकारमाथि लाग्दै आएको छ ।

भारतमा उत्पादन भइरहेको कोभिशिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार जनाले र दुवै मात्रा ४ लाख ५९ जनाले शनिवारसम्म लगाएका तथ्याङ्क छ । बीबीसी नेपालीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *