महामारीमा एकल महिलाले खुवाए १७ हजार बढी स्वास्थ्यकर्मीलाई ‘तातो भोजन’

काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर)ले महामारीको समयमा अग्रपङ्तीमा कार्यरत १७ हजार बढी स्वास्थ्यकर्मीहरुलाई ‘तातो भोजन’ खुवाएको छ ।

नेपाल सरकाले २०७८ वैशाख १६ गतेदेखि बन्दाबन्दी लागु गरेपछि (लकडाउन)मा आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको स्वास्थ्य सेवामा खटेका १७ हजार ३ सय ९३ स्वास्थ्यकर्मीलाई उनीहरुको कार्यस्थलमै पुगेर तातो भोजन उपलब्ध गराएको हो ।

डब्लूएचआरले सोमबार काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै भवनमा आयोजना गरेको स्वास्थ्यकर्मीका लागि निःशुल्क भोजन कार्यक्रमको सार्वजनिक लेखा परीक्षण कार्यक्रममा बोल्दै डब्लूएचआर कानुन विभागका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले बन्दाबन्दीको समयमा (२०७८ बैशाख २६ गतेदेखि २०७८ असार ११ गतेसम्म) ४८ दिन निरन्तर स्वास्थ्यकर्मीलाई खाना खुवाउने कार्य सम्पन्न गरेको जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले महामारीको कठिन समयमा पनि आफ्नो स्वास्थ्यलाई दाउमा राखेर अस्पताल अस्पताल पुगी स्वास्थ्यकर्मीलाई खाना खुवाउने कार्यमा संलग्न एकल महिलाको मानवीय कार्य सबैका लागि उदाहरणीय बनेको बताए ।

मानव अधिकारको लागि महिला एकल महिला समूहका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट प्रभावितहरुलाई मानवता मरेको छैन भन्ने महसुस गराउन एकल महिलाहरुले मानवीय सहयोग गर्दै आइरहेको बताइन् ।

जनस्वास्थ्य प्रमुख कुमार दाहालले बन्दाबन्दीको समयमा डब्लूएचआरले उपलब्ध गराएको तातो भोजन स्वास्थ्य मापदण्ड अनुसार निकै स्वस्थ रहेको बताए । संस्थाका अध्यक्ष कुन्दा शर्माले एकल महिला मात्रै नभई महामारीको समयमा विपन्न, बेसहाराहरुका लागि पनि डब्लूएचआरले काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘जहाँ बिपत्ति, त्यहाँ डब्लूएचआर भन्ने नारा नै तय गरौँ जस्तो भइरहेको छ । प्राकृतिक प्रकोप र महामारीमा हुनेले नहुनेलाई दिनुपर्छ, सक्नेले नसक्नेको लागि काम गर्नुपर्छ ।’

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नबिन केसी, वडा नम्बर ७ का अध्यक्ष बसनारायण महर्जनले डब्लूएचआरले स्थानीय सरकारसँगको सहकार्यमा गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन पर्ने बताए ।

यो अवधिमा डब्लूएचआरले काठमाडौंकाे वीर अस्पताल, प्रसूति गृह, गंगालाल हृदय केन्द्र, ओम हस्पिटल, नेपाल भारत मैत्री अस्पताल लगायत उपत्यकाका १५ अस्पतालमा तातो भोजन उपलब्ध गराएको जानकारी दिइएकाे थियो ।

Leave a Reply

Your email address will not be published.