चोरी हुने अधिकांश मोटरसाइकल तथा स्कुटरहरू बजाज, हिरो र होण्डा कम्पनीका

काठमाडौं । पछिल्लो समय चोरी हुने अधिकांश मोटरसाइकल तथा स्कुटरहरू बजाज, हिरो र होण्डा कम्पनीका भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो समय चोरी भएर पक्राउ परेका अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीका पल्सर तथा हिरो र होण्डा कम्पनीका रहेका छन् । विशेषगरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरू चोरी गर्ने गरेको महाशाखाको भनाइ छ ।

युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई छ ।

विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण ईलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तिक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

यसरी हराएकामध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाइकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कबाट देखिएको उनको भनाइ छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्तहरूमा पठाएको समेत महशाखाले जनाएको छ ।

सवारीसाधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.