व्यवस्थापनले पानी पेटमा लात हानेपछि श्रम विभाग पुगे हिमालयन बैंकका कर्मचारी

काठमाडौं । खाईपाई आएको सेवा सुविधा कटौती भएपछि हिमालयन बैंकका कर्मचारी श्रम विभाग पुगेका छन् ।

कर्मचारी बढुवा भए, तर, उधारो । खाईपाई आएको सेवा सुविधा पूरै काट्कुट गरेर । श्रम ऐनले सेवा सुविधा घटाउन नपाउने भनी बोलेको छ । तर, हिमालयन बैंकले कर्मचारीले खाईपाई आएको सेवा सुविधा साट्सुट्टै घटाएर बढुवा गरेको आरोप कर्मचारीले लगाएका छन् ।

विगतमा हिमालयन बैंकले काठमाडौं बाहिर सरुवा हुने कर्मचारीलाई खाईपाई आएको तलब–भत्तामा अतिरिक्त २५ प्रतिशत बढी दिएको थियो । जसले उपत्यका बाहिर गएर काम गर्नेको मनोबल बढेकै हो । तर, अहिले त्यो घटेपछि कर्मचारी अशान्त छन् । कटौतीमा परको सुविधा हालसालै दिन थालिएको भने होइन, बैंकको स्थापना कालदेखि नै प्रदान गरिंदै आएको सुविधा थियो ।

बैंक व्यवस्थापनलाई एकाएक के सनक उठ्यो कुन्नि ! कर्मचारी यूनियनसँग विना छलफल खाईपाई आएको सेवासुविधामा कैँची चल्यो । र, पीडित कर्मचारी श्रम विभागको ढोका हान्न पुग्गे ।

व्यवस्थापनले एकलौटी ढंगले लागू गरेको नियमले खाईपाई आएको सेवा सुविधा घटेको र यो विषयमा आवश्यक कारबाही गर्न भन्दै उनीहरुले श्रम विभागमा निवेदन दर्ता गरेका हुन् ।

पीडित कर्मचारीले भनेका छन्, ‘वर्षै पिछे राम्रो काम गरे बापत पाईने ‘ग्रेड’लाई बेसिक तलबमा जोड्ने गरिन्थ्यो, जसले गर्दा हामीहरुको सञ्चय कोषमा समेत फरक पर्न आउँदथ्यो । तर, यसलाई पनि अचानक कसैलाई खबर समेत पनि नगरेर आफूखुशी काटेर भत्तामा मात्रै जाने र संचयकोषमा केही पनि नजाने बनाइएको छ ।’

नेपाल राष्ट्र बैंकले निर्देशन दिए अनुसार कोरोना लागेका कर्मचारीको सम्पूर्ण खर्च बैंकले व्यहोर्नुपर्छ भनेको थियो । तर, हालसम्म कुनै एक कर्मचारीको पूर्ण वा आंशिक खर्च नव्यहोरेको पीडित कर्मचारीले बताएका छन् ।

शाखा प्रबन्धक बनेर जाँदा वा विभागीय प्रमुख हँदा बैकको साँचो राख्ने मौका पाउँछन् र यसरी थप जिम्मेवारी लिए बापत उनीहरुलाई भत्ता दिईन्थ्यो । अहिले आएर त्यो पनि काटियो । यो भत्ता बैंक स्थापना कालदेखि नै दिने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *