पेट्रोलियम पदार्थको मूल्यबृद्धिः उपभोक्तालाई पूर्वजन्मको श्राप, निगमको गोजीमा भ्वाङ !

काठमाडौं । इन्धनको मूल्यबृद्धि हुनासाथ नेपाली बजार र सामाजिक सञ्जाल एकफेर फेरि तातिएको छ । पेट्रोल डिजेलको भाउ बढेको झोंकमा केहीले त सामाजिक सञ्जालमा सरकार सिधै ५०० र १००० बढाए भइगो नि ! भनेका छन् ।

नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि, बलियो डलर र सरकारको करनीतिले उपभोक्तालाई मार परेको बतायो । निगमले पछिल्लो समय पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।

यो मूल्यबृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ पर्नेछ ।

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले बढेर प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ । अहिले आयल निगमले १५-१५ दिनमा स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्ने गरेको छ । तर, यो पल्ट १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । योसँगै उपभोक्तालाई साढेसाती सुरु भएको वा पूर्वजन्मको श्राप लागेको भनिरहेका छन्, केहीले ।

निगमलाई अझै घाटा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भइरहेको दैनिक मूल्य बृद्धिको चाप नेपाली बजारमा परेको छ । र, आयल निगम, सरकारले लगाएको करकै कारण घाटा सहेर उपभोक्तालाई इन्धन दिइरहेको दाबी गर्छ ।

निगमका प्रवक्ता ईञ्जिनियर विनितमणि उपाध्यायका अनुसार अहिले समायोजन भएको मूल्यपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ३५ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३१९ रुपैयाँ ३३ पैसा घाटा छ । यस हिसाबले निमगलाई १५ दिनमा ९१ करोड ३५ लाख घाटा हुन्छ ।

यही गतिले निगम ६ वर्षपछि घाटामा गएको बताउँछन्, पवक्ता उपाध्याय । २०७१ असोज १३ बाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू भएपछि निगम लगातार नाफामा थियो । ६ वर्ष लगातार नाफामा रहेको निगमले यो आर्थिक वर्षमा भने करिब ४ अर्ब नोक्सानी व्यहोर्ने अड्कल छ ।

रक्सौलमा ६७.७७ रुपैयाँमा किनिएको पेट्रोलमा ५६.६१ रुपैयाँ कर थोपरिएको छ । डिजेलमा ३९ रुपैयाँ २८ पैसा कर लागेको छ । यो वर्ष सरकारले कर नबढाए पनि अघिल्लो आर्थिक वर्षकै करले उपभोक्ताको ढाड सेकिएको छ । सरकारले लगाएको अचाक्ली करका कारण निगम अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको अनुपातमा यहाँ भाउ बढाउन पाएको छैन । स्वचालित मूल्य पूणर् रूपमा कार्यान्वयन गर्ने हो भने पेट्रोलको भाउ प्रतिलिटर १ सय ४८ रुपैयाँसम्म पुग्छ । तर, निगमले एक पल्टमा जम्मा २ रुपैयाँ मात्रै बढाउने गरेको छ । अहिलेसम्म निगमले विगत ६ वर्षमा कमाएको नाफाबाट उपभोक्तालाई सहुलियतमा इन्धन दिइरहेको जिकिर प्रवक्ता उपाध्यायको छ ।

पूरानै अवस्थामा फर्किँदै निगम

एकातिर निगम घाटाको व्यापार गरिरहेको भनिरहेको छ भने अर्कोतिर उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नुपरिरहेको छ । यसमा कुरा बाझिएको छ, तर कसैले यसको असली कुरा भनेका छैनन् । निगमका अनुसार विभिन्न शिर्षकमा लगाइएको कर सरकारले घटाउने हो भने निमगको घाटा पूर्ति हुन्छ । तर, सहुलियतमा खरिद गरेको इन्धन भारतीय बजारमै घुमाएर विक्रि गरेको कमिसन चक्करका कारण निगम घाटामा गएको कुरा अहिलेसम्म रहस्यमै छ । कसैले खोज्दैनन् । उपभोक्तावादीले खाली उप्काउँछन् मात्रै, नियामक निकायको निद्रा कहिल्यै खुल्दैन । आफैं झाँक्री आफैं कोनी के भने जस्तैः निगम आपूर्तिकर्ता पनि आफैं र नियामक पनि आफैं । त्यसो भएपछि त्यहाँ आफ्नो हात जगन्नाथ हुने नै भयो । समग्रमा भन्ने हो भने तेलको कुरो बुझिनसक्नु छ ।

अर्कोतिर निगम पूरानै अवस्थामा फर्किने दिनलाई निम्तो परेको छ । विगत ६ वर्ष पहिले निगम घाटामै चलिरहेको थियो । यतिसम्म कि निगमलाई ३९ अर्ब ऋण थियो । जुन तिर्न झण्डै १० वर्ष लाग्यो । त्यस्तै अवस्था अहिले आएको छ । सरकारले इन्धनको करमा हेरफेर नगर्ने हो भने निगम फेरि त्यस्तै ऋणमा फस्ने पक्का छ । अर्कोतिर सरकार मूल्य स्थिरीकरण कोषको रकम समेत आफैं मुठ्ठी पारेर राखेको छ, निगमलाई चलाउन दिएको छैन । निगमको हातमा पर्ने प्रक्रिया थालेको थुप्रै भएपनि अहिलेसम्म केही टुंगो लागेको छैन ।

कच्चा पदार्थको मूल्य बढ्दा लगातार नाफा गरिरहेको निगम डिसेम्बर १, २०२० सम्म नाफामै थियो । डिसेम्बर १६, २०२० तिर आइपुग्दा भने निगमको १५ दिने (पाक्षिक) नोक्सान साढे १३ करोड रुपैयाँ पुग्यो । त्यहाँदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । जुलाई १, २०२१ सम्म आइपुग्दा कच्चा पदार्थको मूल्य बढेर ७५ डलर पुगेको छ । कच्चा पदार्थसँगै डलरको भाउ पनि एक डलर बराबर नेरु १ सय १९ रुपैयाँमा कारोबार भएको छ । डलर र कच्चा पदार्थको मूल्य बढ्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *