नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी रेल सेवालाई पनि अनुमति

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन भएको छ । रेलसेवा सम्झौतामा संशोधनका लागि नेपाल-भारत एलओई (लेटर अफ एक्स्चेन्ज) सम्पन्न भएको छ । नेपाल भारत रेल सेवा सम्झौता संशोधनमा नेपालले असार १४ र भारतले असार १५ गते हस्ताक्षर गरेको थियो ।

सम्झौतापत्रमा नेपालकोतर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल्वे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रको हस्ताक्षर गरेका हुन् ।

२०७५ वैशाखमा नेपाल र भारतबीचको वाणिज्य सचिव स्तरीय बैठक (आइजीसी) को निर्णय अनुसार दुई देशबीचका वाणिज्य, पारवहन र रेल सेवा सम्झौतामा बृहत् पुनरवलोकन सहित नवीकरण गर्ने निर्णय भएको थियो ।

रेल सेवा सम्झौताको नवीकरणसँगै नेपाल र भारतका निजी रेल सेवालाई पनि नेपालबाट र भारतीय बन्दरगाहबाट नेपालतर्फको कार्गो ढुवानी गर्न सकिन्छ ।

रेल सेवा सम्झौताको संशोधनमा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरु गरिएका छन् ।

उक्त संशोधनबाट भारतका निजी रेल सेवा प्रदायकहरुले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसका साथै भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो ट्रेन अपरेटरहरुले नेपालको पारवहानका लागि हुने ढुवानीका लागि सेवा दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published.