कुनै पनि व्यक्तिलाई उपचारका लागि रकम निकासा गर्नु कानुनविरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिलाई सरकारले उपचारका लागि रकम निकासा गर्नु कानुनविरीत हुने बताएका छन् ।

राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने कसैलाई पनि रकम निकाशा गर्न नमिल्ने दाबी गर्दै नेता थापाले नेकपा एमालेका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिनु गैरकानूनी हुने बताएका हुन् ।

भारतको एपोलो अस्पतालमा उपचार गराएका खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएपछि पूर्व स्वास्थ्यमन्त्री समेत थापाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘उच्च ओहोदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौं । र मन्त्रालयबाट एकजनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै’ प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ ।’

‘कानुनले स्पष्ट भन्छ, जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न मिल्दैन,’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू अब भन्नुस्– पूर्व प्रमको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’

कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराएका खनालको उपचार खर्च एमालेले बेहोर्ने बताइए पनि पछिल्लो समय भारतमा गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । उक्त निर्णयको विरोधस्वरुप थापाले उक्त धारणा सार्वजनिक गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published.