नेता नेपालले भने, ‘सर्वोच्चलाई प्रभाव पर्ने गरी सहमति हुँदैन’

काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पर्ने गरी कुनै सहमति नहुने बताएका छन्।

आज बिहान सहमति मस्यौदा बोकेर नेपाल निवास कोटेश्वर पुगेका कार्यदलका सदस्यलाई अदालतलाई प्रभाव पर्ने गरी सहमति नहुने बताएका हुन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि आदेश माग गर्दै सर्वोच्चमा बुझाएका हस्ताक्षर फिर्ता गर्नुपर्ने अडान राखेको छ।

त्यसलाई समेट्ने गरी कार्यदलले सहमतिको मस्यौदा तयार गरेको थियो। त्यसले सर्वोच्च अदालतलाई प्रभाव पर्ने जनाउँदै नेपालले यस्तो सहमति नहुने बताएको कार्यदलका एक सदस्यले बताए।

नेपालले अदालतलाई प्रभाव पर्ने गरी कुनै सहमति नहुने बताएपछि कार्यदलका सदस्यहरू कोटेश्वरबाट फर्किएका हुन्। उनीहरू सहमतिको मस्यौदा बोकेर फेरि कार्यदलको बैठकमा बसेका छन्।

अहिले एमाले कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी रहेको छ। बैठकमा सहमतिका लागि छलफल भइरहेको जनाइएको छ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *