दुईवटा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं । दुईवटा नयाँ राजनीतिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन आयोगमा दर्ता भएको हो । यी दुईवटै पार्टी जनता समाजवादी पार्टीका नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा दर्ता गरिन लागेको बताइएको छ ।

यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक्षतामा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।

पार्टीको आधिकारिताबारे विवाद निर्वाचन आयोगमा चलिरहेको बेला दुवै पक्षले एक अर्काको पुरानो पार्टी दर्ता गराउन थालेका हुन् । संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादव नेतृत्वको पुरानो पार्टी हो । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नयाँ पार्टी हो ।

मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । पछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । सोही समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *