काठमाडाैं । नेकपा (माओवादी केन्द्र) विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ।
माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानबिन गरेको हो। माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। “माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ। यसविरुद्ध परेको निवेदन खारेज भएको छ,” आयोगका प्रवक्ता श्रेष्ठले हिमालखबरसँग भने।
नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूतर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए। उनले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को वैधानिकतामा प्रश्न उठाउँदै खारेज गर्न माग गरेका थिए।
आयोगमा निवेदन परेपछि पूर्वमाओवादी नेताहरू पनि आयोग पुगेका थिए। टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीले आयोग पुगेर निवेदनमाथि छानबिन गर्न माग गरेका थिए।
नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए।
यससँगै आयोगले भविसोर पराजुलीलाई सचेत गराउने निर्णय गरेको छ। उनले नेकपा (माओवादी केन्द्र)को अध्यक्ष आफू भएको दाबी गर्दै आफूलाई आधिकारिकता प्रदान गर्न आयोगमा निवेदन दिएका थिए।
उनी अध्यक्ष रहेको पार्टी आयोगमा दर्ता नभएको जनाउँदै अर्को दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेश गरेकोमा सचेत गराई आयोगमा अभिलेखिकरण गर्ने निर्णय गरेको हो।