काठमाडौं। अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १५ लाख डोज जोनसन एण्ड जोनसन खोप आज नेपाल आइपुगेको छ ।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार हिजो आइतबार नेपालका लागि प्रस्थान गरेको थियो । खोप आज बिहान नेपाल आइपुगेको हो । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
नेपाल आइपुगेको सो परिमाणको खोप अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त खोप एक मात्रा लगाए पुग्छ ।
कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।
नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्याधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।
याे पनि पढ्नुस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ५३५ र एन्टिजेन विधिबाट ३ हजार ६८३ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८३१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेको छ ।
२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
याे पनि समाचार
कोरोनाका कारण विदेशमा १२ जना नेपालीको मृत्यु
लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना, नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार शनिवार साँझ ( १० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् ।
संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४ दशमलव ६ प्रतिशत अर्थात ६ लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिवार सांझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।