संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्दै

काठमाडौं । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनविरु परेको मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिने भएको छ ।

गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आज तोकिएको छ । आजै विघटन विवादमा आदेश सुनाउने तयारी रहेको बताइएको छ । असार ९ गतेदेखि गत सोमबारसम्म निरन्तर ३२ घण्टाभन्दा बढी समय संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

विघटन मुद्दाको सुनुवाइ गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, डाक्टर आनन्दमोहन भट्टराई र ईश्वरप्राद खतिवडा सोमबारपछि नियमित काममा फर्किएका छैनन् ।

उनीहरुलाई पेशी तोकिएको छैन् । उनीहरु मुद्दाको फैसला लेख्न व्यस्त भएकाले मुद्दा नतोकिएको सर्वोच्च अदालतले जनाएको छ । यस अवधिमा प्रधानन्यायाधीश राणाबाहेक अरु न्यायाधीशहरु कार्यालयसमेत आएका छैनन् ।​

पाँचैजना न्यायाधीशहरूले दैनिक काम छाडे पनि त्यसमध्ये दुई जनाले फैसला लेखनको मुख्य जिम्मेवारी पाएका छन् । एमालेको आन्तरिक विवादसँग प्रत्यक्ष जोडिएको यो मुद्दामा न्यायाधीशहरूले फैसला लेखिरहँदा पार्टीका नेताहरु भने विवाद मिलेको सन्देश दिन तल्लिन छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार कोही पनि व्यक्ति प्रधानमन्त्री नियुक्त हुन नसकेपछि मौजुदा प्रधानमन्त्री ओलीको सिफारिसमा जेठ ७ गते प्रतिनिधिसभा विघटन भएको थियो ।

त्यसविरुद्ध १४६ जना सांसदले संसद विघटन असंवैधानिक रहेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च पुगेका हुन् ।

याे पनि पढ्नुस्

ओली र नेपालबीच आज मिलन हुने, यस्तो छ तयारी

काठमाडौं । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आइतबार बोलाइएको बैठक आजका लागि सारिएको हो । बैठक बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरूले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् ।

दश बुँदाको सहमतिमा दुई शीर्ष नेताहरूलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.