जनभावनाबाट होइन आदेश र परमादेशबाट म हटेको हुँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनभावनाविपरीत सर्वोच्च अदालतको आदेश र परमादेशले प्रधानमन्त्रीबाट हटाएको बताएका छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफूलाई जनताको साथ रहिरहे पनि व्यक्तिगत लाभ–हानीका कारण सर्वोच्च अदालतबाट भएको फैसलाका कारण नेकपा एमालेको सरकार ढलेको बताएका हुन् ।

‘जनताको बीचमा परीक्षण गर्ने दिन आवस् र त्यसको हिसाब–किताब जनताले नै गरुन्,’ ओलीले सम्बोधनका क्रममा भने, ‘जनताको बीचमा रहेर काम गरिरहेको सरकार, सर्वाधिक काम गरेको सरकार ढालेर र चलिरहेको पार्टीमा विभाजन तथा अन्तर्घातको खेल खेलेर समस्या थपिँदै जाँदा आजको अवस्था आएको हो ।’

ओलीले सम्बोधनका क्रममा आफ्नो नेतृत्वमा भएका विभिन्न दीर्घकालीन र महत्वपूर्ण कामहरूको फेहरिस्त समेत सुनाएका छन् । आफूले गरेको राम्रो र जनपक्षीय कामलाई देखेर आफूविरुद्ध प्रधानमन्त्री भएदेखि नै हटाउने खेल शुरू भएको दाबी समेत ओलीले गरेका छन् ।

जनताको आदेश मसँग छ, सर्वोच्चको परमादेश देउवालाई भयो

प्रधानमन्त्री ओलीले आफूलाई जनताको आदेशले प्रधानमन्त्री चाहेको तर सर्वोच्चको परमादेशले देउवालाई चाहेको बताएका छन् ।

मंगलबार देशबासीका नाममा प्रधानमन्त्रीको रुपमा अन्तिम पटक सम्बोधन गर्दै जनताको आदेश आफूलाई भएको र अहिले पनि आफूलाई नै जनताले चाहेको तर सर्वोच्चको परमादेशले देउवालाई चाहेको उनले बताए ।

आफूले लोकतन्त्रका लागि आफ्नो जीवन पूर्ण रुपमा समर्पण गरेको र आफू अनुचित तवर सरकारमा बस्न नचाहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *