काठमाडौँ । सर्वोच्च अदालतको परमादेशलाई स्वीकारेर हटेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
उनले अहिलेको राजनीतिक परिस्थितिलाई एकैछिन लागेको बादलको संज्ञा दिँदै फेरि सूर्य उदाउने आत्मविश्वास प्रस्तुत गरेका छन् ।
उनले अब आफू र आफ्नो पार्टी नेकपा एमाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि चौबीसै घण्टा खडा भएर खबरदारी गरिरहने ओलीले घोषणा गरेका छन् ।
मंगलबार सिंहदरबारबाट बाहिरिनु अघि देशबासीका नाममा सम्बोधन गर्दै भने, ‘एकछिन बादल लागेको छ, फेरि सूर्य बादल हटाएर उदाउने छ ।’
उनले बटमलाईनमा थपे, ‘बादलले एकछिन अँध्यारो पार्न सक्ला । घामलाई छेक्न सक्ला । तर, सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन ।’
उनले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको पनि बताए ।
ओलीले भने, ‘नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सधैंभरि अग्र मोर्चामा डटिरहने छ । लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि हामी चौबीसै घण्टा खडा भएर अब पनि खडा हुनेछौं । थालिएका अग्रगामी कदमहरूको निरन्तरताका लागि खबरदारी गरिरहने छौं ।’