नाम चलेका ६ वटा वाणिज्य बैंक कारवाहीमा

काठमाडौं । नीतिगत व्यवस्था उल्लंघन गरेको आरोपमा ६ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै चालू आर्थिक वर्षमा ६ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो । कारवाही पर्नेमा लक्ष्मी बैंक, सिभिल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् । लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको छ भने ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६१७ रुपैयाँ जरीवाना असुल गरेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरूको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी बैंकलाई २० लाख र सिभिल बैंकलाई १० लाख रुपैयाँ बराबरको जरीवाना गरेको छ । बैंकले गरेको कारोबार शंकास्पद देखिएर सम्पत्ति शुद्धीकरण ऐन तथा निर्देशन उल्लंघन गरेको देखिँदा पनि सम्बद्ध बैंकले केन्द्रीय बैंकमा रिपोर्टिङ गरेन भने जरीवाना गराउने व्यवस्था छ । यस्तो अवस्थामा न्यूनतम १० लाख रुपैयाँ जरीवाना गराउने व्यवस्था छ ।

त्यस्तै राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहको तोकिएको सीमा पूरा नगरेका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६१७ रुपैयाँ जरीवाना गरेको छ भने सो बैंकलाई सचेत समेत गराएको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई समेत सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सजाय स्वरूप शुरूमा बैंकको नियमन उल्लंघन गरेमा सचेत गराउने वा लिखित चेतावनी दिन पाउने व्यवस्था छ । यसअनुसार सुपरिवेक्षणको क्रममा देखिएको कमजोरीलाई राष्ट्र बैंकले औंल्याएर पहिलो चरणमा आवश्यकताअनुसार सम्बद्ध संस्था तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले जनाएको छ । शुरूमा स्पष्टीकरण लिने र सकभर ठूलो कारवाही नगर्ने हिसाबले सचेत गराउने गरेको विभागको भनाइ छ ।

बैंकहरूले तोकिएको सीमाभित्र नरही अनिवार्य नगद मौज्दात (सीआरआर), ५ प्रतिशतसम्मको विपन्न वर्ग कर्जा, कृषि ऊर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा सीमा नपु¥याए बैंकहरूले लिने गरेको उच्चतम ब्याजदरको आधारमा नगद जरीवाना गराउने गरिएको छ । नगदबाहेक सचेत तथा चेतावनी दिनेलगायत व्यवस्थासमेत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *