काठमाडौंमा एक तले घर बनाउँदा कति खर्च लाग्छ ?

सबैको सपना हुन्छ, राजधानी काठमाडौंमा घर बनाउने । तर, काठमाडौं उपत्यकाभित्र कति तलाको घर बनाउन कति लगानी लाग्छ ? त्यसबारे भने प्रायः सबै बेखबर हुने गरेका छन् । घरको अनुमानित लागतबारे सम्बन्धित क्षेत्रका इन्जिनियरसँग जानकारी लिँदा राम्रो हुन्छ । लगानीको आंकलन गरेरै आफ्नो आर्थिक क्षमताले भ्याउने घर निर्माण गर्नु उक्तम हुन्छ ।

के तपाईं काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? निर्माण सुरु गर्नुअघि तपाईंले अनुमानित बजेट जोहो गर्नु आवश्यक हुन्छ । आफूसँग कति रकम छ, अपुग रकम बैंकबाट ऋण लिने हो कि आफन्तसँग सरसापट माग्ने हो, त्यो निक्र्योल गर्नैपर्छ ।

हामीले तपाईंहरूलाई काठमाडौं उपत्यकामा मध्यम खालको एक तला घर निर्माणका लागि कति रकम खर्च हुन्छ भनेर जानकारी गराउँदै छौं ।

चार आना क्षेत्रफलको घडेरीमा करिब १ हजार स्क्वायर फिटमा फैलिएको एक तलाको चारकोठे घर बनाउन कति लगानी लाग्छ ? स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाल भन्छन्, ‘मध्यमस्तरको घर बनाउँदा प्रतिस्क्वायर फिट ३२ सय रुपैयाँ हाराहारी लागत पर्न आउँछ । यो भनेको करिब ३२ लाख रुपैयाँमा एक तले घर तयार हुने भयो ।’

घरलाई जति भव्य बनाउन खोज्यो, लागत पनि उति नै बढ्दै जान्छ । मध्यमभन्दा अलि माथिल्लो स्तरको घर बनाउन प्रतिस्क्वायर फिट लागत ४ हजार रुपैयाँ पर्छ । अझ राम्रो बंगला बनाउँदा ४५ सय प्रतिस्क्वायर फिट लगानी पर्न आउँछ ।

तीन आना (करिब १ हजार स्क्वायर फिट) जग्गामा प्रतिस्क्वायर फिट ४ हजारको दरले एक तला घर ठड्याउन ४०/४२ लाख रुपैयाँ लगानी गर्नुपर्छ । यदि बंगालो किसिमको अलि लक्जरी घर बनाउन खोजे प्रतिस्क्वायर फिट ४५ सयका दरले एक तलाको ४५ लाख रुपैयाँ लगानी लाग्ने भयो ।

कस्तो घर बनाउने ? यो तपाईंकै छनोट हो । तपाईंले आफ्नो आयस्रोत हेरेर कस्तो घर बनाउने निर्णय गर्न सक्नुहुन्छ ।

सामान्यतयाः ४ आना जग्गामा घर ठड्याउने भनेको करिब एक हजार स्क्वायर फिट क्षेत्रफलको हो । फुयालका अनुसार यो क्षेत्रफलमा ११ फिट बाई १३ फिटका तीन वटा कोठा, १३ फिट बाई १५ फिटको लिभिङ रुम र ७ फिट बाई ५ फिटको एउटा बाथरुम तयार हुन्छ ।

डेभलपर कम्पनीले ३२ लाख रुपैयाँमा एक तलाको घर बनाएर घरधनीलाई चाँबी बुझाउन सक्छन् । यदि आफैले घर बनाउन कस्सिए एक/दुई लाख रुपैयाँ कम पनि पर्न सक्छ । डेभपलपरले आफ्नो खर्च पनि जोडेकै हुन्छ ।

केमा कति खर्च ?

डन्डी : ५ लाखदेखि सवा ५ लाखसम्म

एक तले घर बनाउँदा करिब ६ टनजति डन्डी खपत हुन्छ । हालको अवस्थामा हिमाल स्टिल र पञ्चकन्या स्टिलको मूल्य प्रतिकिलो ८४–८६ रुपैयाँसम्म पर्छ । यदि सस्तो खाले डन्डी प्रयोग गर्न खोजे जगदम्बा, लक्ष्मीलगायत ब्रान्डका डन्डी प्रतिकिलो ७०/७५ रुपैयाँमै पनि किन्न पाइन्छ ।

एक टनमा १ हजार किलो डन्डी हुन्छ । पञ्चकन्या र हिमाल स्टिल खरिद गर्दा ६ टनको ५ लाखदेखि सवा ५ लाख रुपैयाँसम्म मूल्य पर्छ । यदि सस्तो खालको डन्डी प्रयोग गर्न चाहे ६ टन डन्डी साढे ४ लाखभन्दा कम मूल्यमै खरिद गर्न सकिन्छ ।

सिमेन्ट : २ लाख ६५ हजार

एक तले घर ठड्याउँदा २ सय २० देखि २ सय ४० बोराजति ओपीसी सिमेन्ट लाग्छ भने ८० बोराजति पीपीसी सिमेन्ट लाग्छ । ढलान, पिलर, बिम लगायतमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ । इँटाको गारो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ ।

अहिलेको अवस्थामा बजारमा ओपीसी सिमेन्टको औसत मूल्य प्रतिबोरा ८ सय ५० रुपैयाँ हाराहारी पर्न आउँछ । दुई सय ४० बोरा ओपीसी सिमेन्टको मूल्य करिब २ लाख ४ हजार रुपैयाँ पर्ने भयो ।

यस्तै, ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७ सय ८० रुपैयाँ हाराहारी छ । यो मूल्यमा ८० बोरा सिमेन्ट किन्दा ६२ हजार रुपैयाँ पर्छ ।

यदि तपाईंले हेटौंडा सिमेन्ट प्रयोग गर्न खोज्नुभयो भने लागत बढ्न सक्छ । अहिले हेटौंडा सिमेन्टको मूल्य प्रतिबोरा १ हजार रुपैयाँ हाराहारी छ ।

इँट्टा : १ लाख ८० हजार

घरको पाटेसन गर्नका लागि इँटा अनिवार्य हुन्छ । एक तला घरको पाटेसन र कम्पाउन्ड वाल लगाउन करिब ११/१२ हजार गोटा इँटा चाहिने फुयाल बताउँछन् । एउटा इँटाको मूल्य साढे १५ रुपैयाँ पर्न आउँछ । साढे ११ हजार इँटा किन्न करिब १ लाख ८० हजार रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

बालुवा : १ लाख ६८ हजार

घर बनाउँदा बालुवा नभई हुँदैन । अझ सकभर माटो नमिसिएको सफा बालुवा प्रयोग गर्दा घर बलियो हुन्छ । सिमेन्ट, बालुवा र गिट्टीको राम्रो कम्बिनेसन मिल्नैपर्छ ।

चार आना क्षेत्रफलको घडेरीमा करिब १ हजार स्क्वायर फिटमा फैलिएको हुन्छ । मध्यमस्तरको घर बनाउँदा प्रतिस्क्वायर फिट ३२ सय रुपैयाँ हाराहारी लागत पर्न आउँछ । चार आना क्षेत्रफलको घडेरीमा एक तले घर बनाउन ३२ लाख रुपैयाँ खर्च हुन्छ ।

फुयाल भन्छन्, ‘एक तलाको घर बनाउन ठूलो गाडीको ६ टिपजति बालुवा चाहिन्छ । अहिले बजारमा प्रतिटिपर बालुवाको मूल्य २७/२८ हजार रुपैयाँ पर्छ । यो मूल्यमा ६ टिप बालुवा किन्न १ लाख ६८ हजार रुपैयाँ लाग्छ ।

गिट्टी : २ लाख १० हजार

एक तले घर बनाउन ७ टिपरजति गिट्टी चाहिन्छ । एक टिपर गिट्टीको मूल्य ३० हजार हाराहारी पर्छ । ७ टिपर गिट्टी किन्न २ लाख १० हजार रुपैयाँ तिर्नुपर्छ । तपाईंले गिट्टी छनोट गर्दा चिल्लो नभएर खस्रो कोण कोण निस्किएको छान्नुपर्छ ।

झ्याल–ढोका : २ लाख ८३ हजार

घर बनाएपछि झ्याल–ढोका त राख्नैप¥यो । अहिले काठको मूल्य प्रतिस्क्वायर फिट ८ सय रुपैयाँ हाराहारी छ । एउटा झ्याल ६ फिट बाई ५ फिटको बनाउनुपर्छ । यो भनेको एउटा झ्याल तयार पार्दा करिब २५ हजार रुपैयाँ पर्छ । एउटा घरमा झन्डै ७ वटासम्म झ्याल राख्नुपर्ने हुन्छ । ७ वटा झ्यालको मूल्य १ लाख ७५ हजार रुपैयाँजति पर्न आउँछ ।

घरमा ढोका पनि चाहियो । चार वटा कोठा र एउटा सौचालयमा गरी कुल ६ वटा ढोका चाहिन्छन् । एउटा ढोका ३ फिट चौडाइ र ७ फिट उचाइको हुन्छ । फुयाल भन्छन्, ‘एउटा ढोकाको मूल्य करिब १८ हजारजति पर्छ ।’ उनका अनुसार ६ वटा ढोकाको मूल्य १ लाख ८ हजार रुपैयाँ पर्ने भयो ।

झ्याल र ढोकामा मात्रै २ लाख ८३ हजार रुपैयाँ खर्च हुने देखिन्छ ।

बाथरुम : ६० हजार
एउटा सामान्य बाथरुम तयार पार्न ६० हजारजति लगानी हुने फुयाल बताउँछन् । बाथरुममा राखिने टायल, धारा, क्याबिन, बाथटव, बेसिनलगायतले लागत निर्धारण गरिदिन्छ । ‘एउटै बाथरुम बनाउन न्यूनतम ६० हजारदेखि ६ लाख रुपैयाँसम्म पनि खर्च गरिन्छ,’ उनी सुनाउँछन् ।

भान्छा : १ लाख ५० हजार

भान्छा घरको महत्वपूर्ण भाग हो । फुयालका अनुसार नर्मल र्याक, ग्रेनाइट, धारा, टायल राखेर किचन बनाउन करिब डेढ लाखजति खर्च लाग्छ । यदि चिम्नी, आधुनिक घर्रा, र्याकलगायत राखेर ‘मोडुलर’ किचन बनाउन खोजे ३ लाखजति खर्च हुन्छ ।

रङरोगन : १ लाख ८० हजार
एक तले घर रङरोगन गर्न १ लाख ८० हजार रुपैयाँ खर्च हुन्छ, जसमध्ये १ लाखको रङ किन्नुपर्छ भने ८० हजारजति रङ लगाएको ज्याला तिर्नुपर्छ ।

ठेकेदारको ज्याला : ४ लाख ५० हजार

घर बनाउने ठेकेदारले निर्माण सामग्रीबाहेक छुट्टै खर्च पनि लिन्छन् । फुयालका अनुसार एक तला घर बनाउन ठेकेदारले करिब साढे ४ लाख रुपैयाँ लिने गरेका छन् ।

ट्यांकीहरू : १ लाख ६५ हजार

घरमा सेफ्टी ट्यांकी, रिजर्भ पानी ट्यांकी र छतमा पनि ट्यांकी राख्नुपर्ने हुन्छ । फुयाल भन्छन्, ‘सेफ्टी ट्यांकी बनाउन ४० हजार, रिजर्भ ट्यांकी बनाउन ८० हजार र छतमा १ हजार लिटर पानी अटाउने ट्यांकी राख्दा ४५ हजारजति खर्च हुन्छ ।’

छतमा ट्यांकी राख्दा स्ट्यान्डको ३० हजार पर्छ भने ट्यांकीको १५ हजार हाराहारी पर्छ ।

रेलिङ : ७० देखि ८० हजार

सुरक्षा र आकर्षण दुवैका लागि घरको भ¥याङ र बार्दलीमा रेलिङ राख्नुपर्ने हुन्छ । एक तले घरमा स्टिलको रेलिङ राख्दा ७० देखि ८० हजार रुपैयाँ खर्च पर्न आउँछ ।

बिजुली जडान : २ लाख ५० हजार

बिजुलीका सामानहरू र वायरिङसमेत गर्दा अढाई लाखजति खर्च हुने फुयाल अनुभव सुनाउँछन् ।

पाइप जडान : १ लाख ५० हजार

घरमा तलदेखि माथिसम्म पाइप किनेर जडान गर्न करिब डेढ लाखजति खर्च हुन्छ ।

कम्पाउन्ड गेट : ५० हजार

वाल कम्पाउन्ड गरेर गेट राख्नका लागि ४० देखि ६० हजार रुपैयाँ खर्च हुने फुयाल बताउँछन् ।

अढाई तला घर बनाउन कति खर्च ?

उनी भन्छन्, ‘ग्राउन्ड तलामा फाउन्डेसनको काम गर्दा अलि बढी खर्च लाग्ने हो, माथिल्ला तला थप्नका लागि खर्च कम लाग्छ ।’ भूकम्पपछि फाउन्डेसनमा हात्तीपाइले अनिवार्य बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

एक तला घर बनिसकेपछि अर्को तला थप्नुपरे २२/२३ लाख रुपैयाँ लाग्ने फुयालको भनाइ छ ।

पछिल्लो समय धेरैले अढाई तले घर बनाउने चलन देखिन्छ । दुई तलामाथि आधा तला थप गर्दा १५/१६ लाख रुपैयाँ खर्च हुन्छ ।

यसको मतलब, मध्यम खालको अढाई तले घर बनाउँदा मोटामोटी ७० लाख रुपैयाँजति खर्च हुने देखिन्छ । नेपाल हाेम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *