१८ दिनदेखि सम्पर्कविहीन युवती नारायणी किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला

चितवन । १४ असारबाट सम्पर्कविहीन पूर्वी नवलपरासीकी युवती अझै सम्पर्कमा आएकी छैनन्।

घटनाका बारेमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले उनी सोही दिन राति ८ बजेतिर एक्लै नारायणी नदी किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला पारेको छ।

२१ वर्षीया बिना सापकोटा १४ असारमा गैंडाकोटस्थित घरबाट साथी प्रवेश कँडेलसँग नारायणघाट हिँडेकी थिइन्। त्यही दिनदेखि उनी सम्पर्कमा आएकी छैनन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार, प्रहरीले कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सापकोटाको मोबाइल कँडेलको साथमा फुटेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। नारायणघाटमा सापकोटा र कँडेलले अर्की एक युवतीसँग पनि भेट गरेका थिए।

अनुसन्धानका क्रममा तीन जनाबीच झगडा भएको पाइएको थापाले जानकारी दिए।

“अनुसन्धानसँगै सापकोटाको खोजी पनि तीव्र पारेका छौं,” थापाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *