१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मेलवर्नमा लकडाउन

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरिएको छ ।

देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ । शुक्रबार थप दुई जनामा संक्रमण देखिएलगत्तै यहाँ तत्काल लकडाउन लागू गरिएको हो ।

यससँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १८ पुग्यो । महामारी सुरु भएयता भिक्टोरिया राज्यमा लकडाउन गरिएको यो पाँचौ पटक हो । यो लकडाउन आगामी मंगलबारसम्म जारी रहनेछ ।

देशको सबैभन्दा ठूला शहर सिड्नीसहितका भूभाग समेट्ने छिमेकी राज्य न्यू साउथ वेल्समा महामारी फैलिएपनि मेलवर्नले यसअघि महामारी नियन्त्रणमा सफलता पाएको थियो ।

यद्यपी, गत साता सिड्नीबाट फर्निचर बोकेका केही मानिसहरु मलेवर्न आएका थिए र कोरोना संक्रमण पनि फैलियो । ६६ लाख जनसंख्या रहेको भिक्टोरिया राज्यमा मानिसहरुले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाउनेछैनन् ।

खाद्यान्न किनमेल, अत्यावश्यक काम, अभ्यास र खोप लगाउनका लागि मात्रै बाहिर निस्कन पाइने नियम लागू गरिएको छ । न्यु साउथ वेल्समा पनि पाँच साता लामो लकडाउन लागु गरिएको छ, जो जुलाईको अन्त्यसम्म कायम रहनेछ ।

यी दुई राज्यमा अष्ट्रेलियाको कुल जनसंख्याको झन्डै ६० प्रतिशत बस्छन् । सिड्नीमा झन्डै १ हजार जनामा संक्रमण देखिएको छ, यहाँ उच्च संक्रामक डेल्टा भेरियन्ट फैलिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *