काठमाडाैं । नेकपा (एमाले)की सांसद गंगा चौधरी (सत्गौवा)ले आफूलाई विश्वासको मतको पक्षमा मत दिन बिभिन्न प्रलोभन आइरहेको बताएकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत मागेर बारम्बार फोन आउने गरेको चौधरीले बताइन्। “पार्टीकै नेताहरूले देउवाजीलाई भोट दिनुपर्याे भनेर प्रलोभन देखाइराख्नुभएको छ,” चौधरीले भनिन्, “जनताको प्यारो पार्टी नेकपा (एमाले)ले जे निर्णय गर्छ त्यसको अक्षरशः पालना गर्छु।”
एमालेलाई एकताबद्ध गराउनुपर्ने उनको भनाइ छ। चौधरी भन्छिन्, “पार्टीको हित विपरीत जान सक्दिनँ, मलाई प्रलोभन देखाएर समय बर्बाद नगर्नुहोला।”
यसअघि एमाले वरिष्ठ नेता माधव नेपालको पक्षमा खुल्दै आएकी सांसद चौधरीले गत वैशाखमा प्रतिनिधि सभामा मतदान हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट दिएकी थिइन्।
याे पनि समाचार
ओलीले बोलाए स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
बैठक आइतबार (भोलि) बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने उनले बताए ।
शुक्रबार एमालेको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि ओलीले मानेनन् । आज पनि दुवै पक्षका दोस्रो तहका नेताहरुले छलफल गरेका थिए ।