परमादेशबाट नयाँ सरकार बनेपछि देखिएका केही चिसा संकेतहरु

काठमाडौं । इतिहास मै पहिलाे पटक फरक प्रक्रियाबाट सरकार परिवर्तन भएसँगै राष्ट्रिय राजनीतिमा अनौठा घटनाहरु भएका छन् । विघटित प्रतिनिधिसभा पुनस्थापनासँगै प्रधानमन्त्रीलाई शपथ पनि गराउनु भन्ने सर्बोच्च अदालतको परमादेशपछि देशमा नयाँ सरकार आएको छ । आफूसँग भएको दुइतिहाईको बहुमत आफ्नै कारणले तुहाउँदै दुई दुईपटक प्रतिनिधिसभा बिघटनको सिफारिस गरेका केपी शर्मा ओली यसमा असफल भए । सर्बोच्चको परमादेशबाट पाँचदलीय गठबन्धनको नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भैसकेका छन् । नेपाली कांग्रेसका सभापति देउवा उनको दलको नेताका हैसियतमा प्रधानमन्त्री भएका होइनन् ।

राष्ट्रपतिको अरुची

सरकार परिवर्तनपछि लगत्तैको शपथ ग्रहण समारोहको दृश्यले सबैलाई खल्लो पारेको र मनमा चिसो पसेको देखियो । प्रधानमन्त्रीमा नियुक्त देउवालाई शपथ गराउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तुति र व्यवहार सर्वथा अनौठो देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानमन्त्रीलाई शपथ गराउन्जेल पनि राष्ट्रपति आफूलाई नरुचेको गाँस वाध्यतावस खानुपरेको जस्तो मुहारमा प्रस्तुत भएकी एकजना मन्त्रीले सुनाए । शपथ पछि नवनियुक्त प्रधानमन्त्रीलाई शिष्टाचारपूर्वक वधाई दिने र वधाई दिन आउने व्यक्तिहरुसँग प्रधानमन्त्रीको परिचय गराईदिने प्रचलन रहेको छ । तर त्यसदिन राष्ट्रपतिले आफूले पनि वधाई दिईनन् र अरुलाई पनि प्रधानमन्त्रीसँग परिचय गराईनन् ।

शपथ सकिए लगत्तै उनी जुरुक्क उठेर कतैपनि नहेरी सरासरी मञ्चबाट अलप भईन् । त्यसपछि उपस्थित पूर्व प्रधानमन्त्रीहरु, नेतागण र निजामति कर्मचारीहरुले मुखामुख गरेर आश्चर्य प्रकट गरेका थिए । नेपाली सेना र दुवै प्रहरी संगठनका प्रमुखहरुले समेत अनौठो पाराले त्यो दृश्य हेरेका थिए ।

राष्ट्रपतिको त्यो व्यवहारले शिष्टाचारकै अपमान गरेको भनी आलोचना भैरहेको छ । सर्बोच्च अदालतको परमादेशमा उनको कार्यको समेत आलोचना गर्दै सचेत गराईएकामा राष्ट्रपति भण्डारी ज्यादै क्रुध्द भएको हुनसक्ने बताईएको छ ।

राष्ट्रपतिको त्यस्तो व्यवहार टुलुटुलु हेरेका प्रधानमन्त्री देउवा र सँगै बसेका सभामुख अग्नी सापकोटाले मुखामुख मात्र गरेका थिए ।

त्यसैगरी राष्ट्रपतिले नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर केसीलाई शीतल निवासमा शपथ गराउन इन्कार गरेको घटनाले अर्को आश्चर्य थपेको छ । राष्ट्रपतिले नै शपथ गराउने नियम नभएपनि उनको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने परम्परा रहँदै आएको छ । यसअघिका महान्यायाधिवक्ताहरु अग्नी खरेल र रमेश बडालले शीतल निवासमै शपथ लिएका थिए ।

राजदूतको वधाई र छिमेकीको व्यवहार

देउवा प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिलो वधाई दिने विदेशीमा अमेरिकी राजदूट परेका छन् । राजदूतले पहिला ट्वीट गर्दै र भोलिपल्ट बिहान भेटेर प्रधानमन्त्रीलाई वधाई दिएका थिए ।

त्यसको ३६ घण्टापछि भारतीय राजदूतले उसैगरी वधाई दिए । ४८ घण्टा पछि चिनियाँ राजदूतले प्रधानमन्त्री देउवालाई वधाई दिए । यतिन्जेल छिमेकी र मित्र राष्ट्रहरुबाट समकक्षी तहको वधाई र शुभकामना आएको छैन ।

यो पक्षलाई कुटनीतिक समुदायले गम्भीर रुपमा लिएको पाईएको छ । संसद्बाट प्रधानमन्त्री परिवर्तन नभएर सर्बोच्च अदातलबाट नियुक्त भएको प्रति छिमेकी र मित्र राष्ट्रहरु असन्तुष्ट भएको प्रष्ट बुझिएको अमेरिकामा नेपालको कुटनीतिक नेतृत्व गरिसकेका एक कुटनीतिज्ञले बताए ।

यसैवीच, पाँचदलीय गठबन्धनका एक नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन उच्च स्तरीय राजनीतिक सन्यत्र निर्माण गर्न आवश्यक भएको तर्क सुर गरेका छन् । संविधानले नचिनेको यस्तो सन्यन्त्रले द्वैध शासनको अभ्यास सुरु गर्ने भनेर आलोचना सुरु भएको छ । बिगतमा पनि यस्तै सन्यत्र बनाउने बहसमा दलहरु विवादमा परेका र सरकारहरु असफल भएका उदाहरण पाईन्छ । यस्तो सन्यन्त्र बन्यो भने दलहरुवीचको सहमति कार्यान्वयन गर्न धेरै अप्ठेरो पर्ने विज्ञहरुको बुझाई छ ।

अर्कोतिर निवर्तमान प्रधानमन्त्री केपीशर्मा ओलीले सर्बोच्च अदालतको फैसलाको भत्सर्ना शैलीमा आलोचना गरेका छन् । ओलीले खेल सञ्चालन गर्नुपर्ने एम्पायर सर्बोच्च अदालत नै खेल खेल्न मैदान पसेको आरोप लगाएका छन् । राजनीतिक बिषयमा मुछिएको भन्दै ओली र प्रचण्डको आलोचना गरेका छन् ।

सरकार विस्तार पहिले कि विश्वासको मत भनेर पनि बहस छेडिएको छ । पाँच दलीय गठबन्धनका एक शीर्ष नेता माधवकुमार नेपालले गठबन्धन छाडेको बताईसकेका छन् । नेपाल समूह विश्वासको मतका बेला कसरी बस्छ त्यो भने हेर्न प्रतिक्षा गर्नैपर्ने छ ।

यसबीचका यी घटनाहरुलाई केलाउँदा आउँदा दिन पनि तनावपूर्ण रहने संकेत देखिएका छन् । खासगरी राष्ट्रपति र सरकारवीच सुरु मै चिसो बनेको सम्बन्ध सुध्रिने हो कि झन चिसो बढ्दै जाने हो भनेर चिन्ता गर्न थालिएको छ । सरकार प्रमुख परिवर्तन हुँदैमा आफ्नो संवैधानिक भूमिका विवादमा पार्नु राष्ट्रपतिको व्यक्तिगत कमजोरी मानिएको छ ।

Leave a Reply

Your email address will not be published.