प्रतिनिधिसभा बैठकमा – ओली र नेपाल नै अनुपस्थित

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का दुई अध्यक्षबीच चुलिएको विवाद यतिबेला निर्वाचन आयोगले कानुनी निरुपण खोजिरहेको छ ।अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी र संसद्मा आफ्नो पक्षको दाबी गरिरहेका छन् । यसैबीच आइतबार बसेको पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा जसपाका दुई अध्यक्षहरु सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर त्यही अनुसारको सिटमा बसेका छन् ।

जसपा अध्यक्ष ठाकुर र शीर्ष नेता राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ भने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई सत्ता पक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरु बसेकै लहरमा बसेको छ ।

जसपाका ३२ मध्ये १७ सांसद आइतबारकै संसदीय दलको बैठकबाट यादव पक्षमा लागेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् । बैठकमा एमालेकै वरिष्ठ नेता माधव नेपाल पनि अनुपस्थित छन् । एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरकै सिटमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *