राजीनामा घोषणा गर्दा किन रिसाए भीम रावल ? के छ उनको राजीनामाभित्र ?

काठमाडौं । ‘यसरी छेक्ने, नगर्नुस् है मलाई प्लिज, प्लिज’, पत्रकारलाई कुरा गर्न दिनुस्’ एमाले नेता सुरेन्द्र पाण्डेले रोक्न खोज्दा आक्रोशित भए एमाले उपाध्यक्ष भीम रावल । र, उनलाई कसैले छेक्न सकेन प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गर्न ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनिएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएको नेता रावलले पत्रकारसामु बताए । नेता रावल, राजीनामा पछि के गर्ने भन्ने विषयमा पछि नै कुरा गरौँला भन्दै हिँडे ।

उनको राजीनामाको व्यहोरा

झण्डै आधा सताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छुँ । र, तिनको सामना गरेको छुँ । यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिए ।

राजनीति र त्यसका सबै षड्यन्त्रहरु, राष्ट्रियहित र स्वाधीनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरको थिएँ । तर, राजनीतिक नेतृत्वबाट त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चितताको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए । फलस्वरुप आज नेपाल र नेपालीहरुको शिर निहुरिदै गएको छ ।

अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा विधि र पद्दतीलाई आफ्नो कुत्सित र निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ ।

त्यस्ता विकृत तथा देश र जनताको हित विपरीतका क्रियाकलापकाविरुद्ध जुट्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवं राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।

यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयसकर भएकोले उक्त प्रकारको कुत्सित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

भीम बहादुर रावल
सदस्य, प्रतिनिधि सभा अछाम, निर्वाचन क्षेत्र नम्बर १

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए । तर, शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाट राजीनामा दिए । उनले आफ्ना अगुवा नेपाललाई संस्थागत निणर्य गरेर अघि बढ्नुपर्छ भनेका थिए ।

आइतबार बिहान रावलसहित नेकपा एमाले कार्यदलका सदस्यले माधव नेपाललाई भेटेर संस्थागत निणर्य गरेर अघि बढ्न आग्रह गरे । तर, नेता नेपालले कुरो सुनेनन् । उल्टै रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति अस्वीकार गरिदिए ।

नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सरकार र पार्टी पंक्तिको खरो आलोचक थिए । रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारबाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *