ओली समूहका चार सांसदले दिए देउवालाई विश्वासको मत

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

याे पनि समाचार 

भीम रावललाई सांसदबाट राजीनामा दिन वाध्य पार्ने को हो ?

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आइतबार अपरान्ह उनले राजीनामाको घोषणा गरेका हुन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका हुन्।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुन म राजीनमा दिदैछु’, सिंहदरबारस्थित संसद सचिवालयमा रावलले संचारकर्मीसँग भने, ‘म राजीनामा दर्ता गर्न जाँदैछु।’

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। रावलको राजीनामाको आन्तरिक कारण अरु नै हुनसक्ने एक एमाले नेताले बताएका छन् । रावललाई कुनै किसिमको थ्रेट आएकाले पनि राजीनामा दिन वाध्य पारिएको हुनसक्ने ती नेताको भनाई छ ।

राजीनामाबारे रावलको धारणा उनकै शब्दमा :

झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोहअवरोह तथा घातप्रतिघात भोगेको छु र तिनको सामना गरेको छु। यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिका लागि गरेको थिएँ। राजनीति र त्यसका सबै संयन्त्रहरू राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ।

तर, राजनीतिक नेतृत्वबाट त्यस विपरीतका काम हुँदै देश र जनताका लागि अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए। फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ। अझै केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा विधि र पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ।

यस्ता विकृति तथा देश र जनताको हित विपरीतका क्रियाकलापका विरुद्ध जुध्दै तिनलाई रोक्नका लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरेँ। तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हित भन्दा निजी स्वार्थ, अहम्, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झिने जुनसुकै नेपालीको मनमा घृणा उत्पन्न हुन्छ।

यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्‍कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु।

Leave a Reply

Your email address will not be published.