प्रधामन्त्री देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद यी हुन्, नामसहित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।

देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

लोकतन्त्र र संविधानको जित भएकाे छ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले निरङ्कुश प्रवृत्तिमाथि जित भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि संसद्बाहिर सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै नेता नेपालले निरङ्कुश प्रवृत्तिमाथि जित भएको बताएका हुन् ।

“यो लोकतन्त्रको जित हो, संविधानको जित हो,” नेपालले भने, “निरङ्कुश प्रवृत्तिको अन्त्य भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *