देउवालाई सर्वोच्चमा साथ दिने तर विश्वासको मत नदिने को–को हुन् १० एमाले सांसद ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका २३ एमाले सांसद मध्ये १० जनाले विश्वासको मत दिएनन् । सर्वोच्चमा साथ दिने २३ सांसद माधव नेपाल–झलनाथ खनाल पक्षधर थिए । बरु केपी ओली पक्षधर ८ सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिए ।

राजबहादुर बुढा, यज्ञराज सुनुवार, नारायण खतिवडा, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, झपट रावलले विश्वासको मत दिएनन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भीमबहादुर रावलले विश्वासको मतका लागि प्रतिनिधिसभा बैठक चलिरहेकै बेला राजीनामा दिए । यी सांसदहरुले एमालेको एकता जोगाउन विश्वासको मतको प्रस्तावमा सहभागी नहुने भनेका थिए। प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि मतदान हुनुभन्दा केहीबेर अघि उनीहरु बाहिरिए ।

प्रतिनिधि सभा बैठकभित्र छिर्नलाई भीम रावलको हात तानेका सुरेन्द्र पाण्डेले समेत देउवालाई मत दिएनन् । झलनाथ खनाल बिरामी भएका कारण सहभागि हुन पाएनन् । तर, उनले देउवालाई विश्वासको मत दिन भन्दै वक्तव्य नै जारी गरेका थिए । देउवालाई सर्वोच्चमा साथ दिएका सांसदहरु पार्टी एकता जोगाउने बहानाले पञ्छिदा खनालले आफ्नो वक्तव्यमा पार्टी एकता सम्भव छैन भनेरै ठोकुवा गरिदिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि देउवासहित १४६ सांसद सर्वोच्च अदालत पुगे । १४६ मध्ये २३ एमाले सांसद थिए । नीहरुको माग बमोजिम सर्वोच्चले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै परमादेश दियो । सर्वोच्चले सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन समेत आदेश दिएको थियो ।

यस्तै, सर्वोच्च पुगेका सांसदहरुले देउवालाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने आदेश पनि माग गरेका थिए । सर्वोच्चले उनीहरुको माग बमोजिम कारबाही गर्न नपाउने तथा पार्टीको ह्वीप नलाग्ने व्याख्या समत गरिदियो ।

आइतबार प्रतिनिधिसभामा भएको मत विभाजन हुँदा देउवाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा १६५ मत खस्यो । विपक्षमा ८३ मत खस्यो । र, एक जना सांसद तटस्थ बसे । मतदानमा २४९ सांसदले भाग लिएका थिए ।

देउवालाई विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि पार्टीभित्र आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरेको थियो । तर, ११ सांसद अनुपस्थित भए भने २२ जनाले देउवाको पक्षमा मतदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *