कोभिड नेपाल: थप २४ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ३२ जनाको मृत्यु

काठमाडाैं । नेपालमा थप २,४४५ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार ११,६६४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,८३१ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५८२ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,२५८ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,८०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २३,३३४ जना घरमा तथा २,५०३ जना संस्थागत आइसोलेशनमा छन्।

मन्त्र सङ्क्रमितमध्ये अहिले ५६४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५५ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि गरिएका सङ्क्रमितमध्ये ३३० जना काठमाण्डूमा, १८४ जना सुनसरीमा, १६० जना कास्कीमा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै देखिन्छ।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा कोभिशील्ड र भेरो सेल खोपको पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या सोमवारसम्म ११,३४,००० हजार नाघेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसनको ज्यानसन खोप वितरण सोमवारबाट सुरु गरिएको हो।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

Leave a Reply

Your email address will not be published.