प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिए ।

दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ । रासस

याे पनि समाचार 

११ राजदूत नियुक्तिको सिफारिश खारेज 

सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्तिका लागि पठाइएका ११ राजदूतको सिफारिश खारेज गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ११ राजदूतको सिफारिश खारेज गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। ओली नेतृत्वको सरकारले १ जेठमा ११ राजदूत नियुक्तका लागि सिफारिश गरेकाे थियाे।

रुसका लागि डा.जंगबहादुर चौहान, बहराइनका लागि युवराज कार्की, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, अस्ट्रेलियाका लागि सुम्निमा तुलाधर (प्रधान), म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी भण्डारी, साउदी अरबका लागि मेराज मुसलमान, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ र अस्ट्रेलियाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि निर्मलराज काफ्लेलाई राजदूतका लागि सिफारिश गरिएको थियो।

ती सबै सिफारिश खारेज गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *