दौडधुपमा प्रचण्ड: सरकारमा भागबण्डाको चलखेल सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच मन्त्रीपरिषद विस्तारका बारेमा छलफल सुरु भएको छ । पाँच दलीय मोर्चालाई मन्त्री परिषदमा कसरी समेट्ने भन्ने बिषयमा नेताहरुवीच छलफल सुरु भएको थाहा भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेका दुइ नेताले अरु दललाई पनि उपयुक्त स्थान दिनेबारेमा कुराकानी गरेका छन् । सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालिएको प्रचण्ड सचिवालयको भनाई छ ।

प्रचण्डले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाएको बुझिएको छ । गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको छ ।

देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गरिसकेका छन् ।

नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको थाहा भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गरेका हुन् । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करीब एक घण्टा कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published.